देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने एमालेको निर्णय

नेपालखोज २०७८ साउन १ गते १५:२८

काठमाडौं । नेकपा (एमाले) ले काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठित सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सरकारबाट बाहिरिए पछि पहिलो पटक बसेको एमाले स्थायी समिति बैठकले अलोकतान्त्रिक र अस्वस्थ प्रतिस्पर्धाबाट सरकार गठन भएको निष्कर्ष निकाल्दै विश्वासको मत नदिने निर्णय गरेको हो ।

शुुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सो निर्णय पालना गर्न पनि पार्टीका प्रतिनिधिसभाका सदस्यहरुलाई निर्देशन दिएको पनि पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, “अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई पार्टीको समर्थन र विश्वासको मत नदिने स्पष्ट पार्दै पार्टीका सबै प्रतिनिधिसभाका सदस्यहरुलाई यस निर्णयको पालना गर्न निर्देशन दिइएको छ।” एमालेले देश र जनताको हितमा केन्द्रित भई सक्रिय एवं रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि स्पष्ट पारेको छ ।

बैठकले पार्टीभित्रका समस्या समाधानका लागि गठित कार्य दलले तयार पारेको १० बूँदे प्रस्तावलाई अनुमोदन गर्दै कार्य दल विघटन पनि गरेको छ । कार्य दलले तयार पारेको प्रस्तावलाई रचनात्मक र सृजनात्मक ढंगले कार्यान्वयन गर्ने गरी अनुमोदन गर्ने निर्णय पनि गरिएको प्रवक्ता ज्ञवालीले बताए ।

“पार्टीको समस्या समाधानका सम्बन्धमा सुझाव दिन गठित कार्य दलले तयार गरी बैठक समक्ष प्रस्तुुत गरेको प्रस्ताव ग्रहण र अनुमोदन गरिएको छ,“ उनले भने, “सो प्रस्तावलाई सृजनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्ने निर्णय गरिएको छ । कार्य दलले आफ्नो जिम्मेवारी पूरा गरेकोमा धन्यवाद दिँदै विघटन गर्ने निर्णय पनि गरिएको छ ।”

१० सदस्यीय कार्य दलले गत असार २७ गते राति एमाले एकताका लागि दश बूँदे सहमति गरेको थियो । बैठक चलिरहँदा पुगेका माधव नेपाल पक्षका नेताहरुले भने आज बोलाइएको स्थायी समिति बैठक र संसदीय दलको बैठक रोक्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका थिए । तर नरोकिएपछि उनीहरु बैठक स्थलबाट बाहिरिएका थिए ।

प्रतिक्रिया