कुर्था-जयनगर रेल सञ्चालनका लागि अन्तिम परीक्षण गरिँदै, लिकमा कमजोरी पाइए सच्याइने

जनकपुर । कुर्था-जयनगर रेल सञ्चालनका लागि आज (आइतबार) अन्तिम परीक्षण गरिने भएको छ । जयनगर ब्रोडगेज रेल्वे सञ्चालनका लागि आज गरिने अन्तिम परीक्षणको तयारी पूरा भएको छ ।
जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म भारतीय रेल्वेका चालक दल र अन्य प्राविधिकले प्रतिघण्टा १२० को गतिले रेल्वे लिकको भौतिक अवस्थाको परीक्षण गर्ने कार्यका लागि तयारी पूरा भएको नेपाल रेल विभागका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।
भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको जनकपुरको कुर्था रेल्वे स्टेसनदेखि भारतको जयनगरसम्म रेल लिकको परीक्षण हुने भएकाले आज (आइतबार) बिहान १० देखि अपराह्न ४ बजेसम्म रेल्वे लिकमा आवतजावत नगर्न सर्वसाधारणमा रेल विभागले आग्रहसमेत गरेको छ ।
भारतीय रेल विभागका कर्मचारीहरूले नवनिर्मित संरचनाहरूको परीक्षणपछि नेपाल सरकारले खरिद गरेको दुईवटा रेल सञ्चालनको अनुमति दिनेछ ।
परीक्षणका क्रममा रेल्वेको लिकमा कुनै कमी-कमजोरी पाइए परीक्षणपछि पुनः सच्याइने र कमी-कमजोरी नभए भारतीय रेल्वेले नेपालमा रेल सञ्चालनका लागि प्रमाणपत्र प्रदान गर्नेछ । प्रमाणपत्र पाएसँगै नेपालको रेल नियमित रुपमा सञ्चालन गर्न मिल्ने पनि रेल्वे विभागले जनाएको छ ।
-फाइल तस्बिर

प्रतिक्रिया