शुक्रबार, जेठ ३, २०८२

जसपाको उपेन्द्र यादव समूह सरकारमा जाँदै, संसद्‌मा सत्तापक्षकै बेन्चमा बस्ने !

नेपालखोज २०७८ साउन ३ गते ७:३५

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को उपेन्द्र यादव समूह सरकारमा जाने भएको छ । आजदेखि सुरु हुने संसद्‌को बैठकमा पनि यादव समूहका सांसदहरु सत्तापक्षकै बेन्चमा बस्ने तयारी छ ।

हिजो (शनिबार) बसेको जसपा यादव समूहको संसदीय दलको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

जसपाको तत्काल कायम रहेको सांसद संख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको जसपाका कार्यकारिणी सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईले जनाए । उनले पार्टीको तत्काल कायम ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा बसेको बैठकले सत्ता पक्षको बेन्चमा बस्ने निर्णयसमेत गरेको जनाए ।

उनका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाइने बैठकले निर्णय गरेको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । जसपाको पार्टी आधिकारिताको विवाद भने निर्वाचन आयोगमा कायमै छ अर्थात् अझै टुंगो लागेको छैन ।

आयोगले पनि आज (आइतबार) देखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र तीन दिनभित्र निर्णय आउने जनाएको छ । जसपा यादव समूहको शनिबारको बैठकमा १७ संघीय सांसद र तीन राष्ट्रियसभाका सदस्य सहभागी भएको सांसद राईले बताए । जसपाको दुवै सदनका सांसदको संख्या ३५ छ । जसमा संघीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद छन् । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षका केही सांसद पनि यादव पक्षमा आएको जनाइएको छ ।

सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्व बिदालगायत विषय उठाउने भएको छ ।

प्रतिक्रिया