बुधबार, वैशाख २६, २०८१

‘महिलालाई सप्तरंगी भएर सजिएको एकदमै सुहाउँछ’

नेपालखोज २०७८ साउन ४ गते ९:४७

झट्ट पत्याइ नहाल्ने हाम्रो नेपाली समाजमा महिलालाई हरेक क्षेत्रमा स्थापित हुन अत्यन्तै मुस्किल छ । पितृ सतात्मक सोच, रुढीवादी परम्परा अनि महिलाले केही गर्न सक्दैनन् भन्ने मानसिकता बोकेको हाम्रो समाजमा महिलालाई कुनै पनि क्षेत्रमा स्थापित हुन फलामको चिउरा चपाए सरह छ । तर, नेपाली समाजमा त्यस्ता कतिपय नाम छन्, जसले महिलाले पनि पुरुषसरह काम गर्न सक्छन् भन्ने सन्देश दिएका छन् । त्यसमध्यको एक नाम हो, कलाकार तथा निर्देशक दीपाश्री निरौला । नेपाली चलचित्र क्षेत्रमा महिला निर्देशकको उपस्थिति अन्यन्त न्यून छ । त्यही न्यूनबाटै पनि सफल श्रेणीमा पर्छिन्, दीपाश्री । दीपाश्रीको निर्देशनमा तयार भएका चलचित्रहरूले बक्स अफिसमा निकै सफलता पाएका छन् । उनको निर्देशनमा तयार भएका ‘छक्का पञ्जा’का तीन सिरिज नै सर्वाधिक कमाइ गर्ने चलचित्रमा पर्छन् । जब दीपाश्रीले पहिलो चलचित्र ‘छक्का पञ्जा’ निर्देशन गरिन्, तब उनको काममा धेरैलाई आशंका थियो । गरे के हुँदैन ? अन्तत: उनी आफ्नो निरन्तरको कामबाट दर्शकलाई विश्वास दिलाउन सफल छिन् । अहिले दीपाश्री निरौला नेपाली चलचित्र क्षेत्रमा सफल निर्देशक नाम हो । अभिनयमा पोख्त अनि निर्देशनमा अब्बल दीपाश्री धर्मकर्ममा पनि उत्तिकै आस्था राख्छिन् । भजनकीर्तनबाटै दिनको सुरुवात गर्ने उनै दीपाश्री निरौलासँग हामीले साउने सोमबारको व्रतको विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ कलाकार तथा निर्देशक दीपाश्री निरौलासँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानी :

साउन महिना सुरु भएको छ । धर्मकर्मका हिसाबले साउन महिनालाई शुभ मानिन्छ । यहाँले धर्मकर्ममा कत्तिको आस्था राख्नुहुन्छ ?
धर्मकर्ममा आस्था राख्ने मात्रै होइन । म धेरै नै आस्था राख्छु । मेरो नित्यकर्म नै भजनबाट सुरु हुन्छ ।

असार ४ गतेदेखि साउने सोमबारको व्रत सुरु हुँदै छ । व्रत बस्नु हुन्छ कि हुन्न ?
सोमबारको व्रत प्रत्येक वर्ष बस्ने गरेकी छु । सोमबार व्रत बस्दा भगवान् एकदमै प्रसन्न हुने अनि आफ्नो स्वास्थ्यका लागि पनि एकदमै राम्रो हुन्छ । यो दुवै कारणले मलाई यो सोमबारे व्रत बस्न एकदमै राम्रो लाग्छ ।

किन बस्नु हुन्छ व्रत ?
सबैभन्दा ठूलो कुरा त देवाधीदेव महादेवको ठाउँमा बसेका छौं हामी । हाम्रो देश नै देवाधीदेव महादेव भएको ठाउँ हो । त्यसकारण पनि एकदमै स्पेसल लाग्छ मलाई । र, अर्को कुरा व्रत र धर्मले आफ्नो एउटा पहिचान पनि बनाउँछ जस्तो पनि लाग्छ मलाई । त्यही भएर सोमबारे व्रत अनि तीज सबै व्रत बस्ने गरेको छु ।

व्रत बसेको दिनभरि के-के गर्नुहुन्छ ?
बिहान सबेरै उठेर नुहाइधुवाई गरेर मन्दिर जाने । त्यसपछि आएर फलाहरहरू खाने । बेलुका आरती गर्ने । दिनभर भजनकीर्तन गर्ने । म भजनहरू धेरै नै सुन्छु । भजन सुन्न एकदमै मन पर्छ । दिनको सुरुवात नै भजनकीर्तनबाट हुन्छ मेरो । जीवन यसरी नै अगाडि बढिरहेको छ ।

प्राय: महिला परिवारमा सुख शान्ति होस्, श्रीमान्‌को आयु लामो होस् भन्नका लागि व्रत बस्छन् । व्रत बस्यो भने सोचेको कुरा पूरा हुन्छ भन्ने लाग्छ यहाँलाई ?
सबैभन्दा ठूलो कुरा विश्वास हो । भगवान्‌लाई त हामीले देखेका छैनौं । तर पनि हामीले त्यो भगवान्‌रुपी ढुंगालाई पुज्दा एक किसिमको आत्मबल बढ्छ भने किन नगर्ने ? त्यसकारणले गर्दा सत्य छ, प्रकृति छ । हामी त्यत्तिकै जन्मेनौं होला । हामी त्यत्तिकै मर्दैनौं होला । एकपटक जन्मेको मान्छे त नमर्नु पर्ने हो नि त ? अजम्बरी हुनुपर्ने हो नि त ? त्यसकारण साँच्चै सत्य छ । यो सत्यलाई स्वीकार्नुपर्छ । र, म के भन्छु भने सबैभन्दा ठूलो कुरा भनेको मनमा भगवान्‌ले अनि प्रकृतिले हामीलाई राम्रो गर्नुहुन्छ भनेर तपाईं आस्था राख्नुहुन्छ भने त्योबाट हामीलाई कहिले पनि बेवास्ता हुँदैन । मलाई त्यस्तो लाग्छ । म त धर्म, भगवान्‌प्रति एकदमै धेरै आशक्ति भएको हुनाले होला । तर, मलाई लागेको पनि के हो भने, कोही पनि मानिस यो धर्म र सत्कर्मबाट टाढा बस्नु हुन्छ जस्तो लाग्दैन ।

साउन महिनाभरि महिलाहरू हरियो, रातो, पहेँलो वस्त्र, चुरा अनि मेहेन्दी लगाएर एकदमै सजिएका हुन्छन् । यहाँलाई यो लगाउने कुरामा कत्तिको चासो छ ?
लगाउने कुराहरू पनि मलाई एकदमै मन पर्छ । किनभने, यो सप्तरंगी भएर सजिएको महिलाहरूलाई एकदमै सुहाउँछ । महिलाहरूलाई त्यत्तिकै पनि राम्रो देखिएको हुन्छ । अब योचाहिँ चाडबाडको पनि सुरुवात हो । साउन महिना भनेको अब चाडबाडको सुरुवात भयो भन्ने हुन्छ । साउनपछि तीज आउँछ, त्यसपछि दसैं आउँछ, दसैंपछि तिहार । यो चाडबाडमा महिलाहरू रंगिबिरंगी भएर बस्दा एक किसिमको छुट्टै देखिन्छ । व्रतालु महिलाहरूलाई हेर्नु त तपाईं । एकदमै भगवान्‌को जस्तो फेस देख्नुहुन्छ । एकदमै शान्त, भद्र, उहाँहरूले बोल्दाखेरि राम्रो कुराहरू, वचनहरू निस्किन्छजस्तो लाग्छ । र, यो रंगीन लुगाहरूले चाहिँ जिन्दगी नै रंगीन हुन्छजस्तो लाग्छ ।

पहिरनको प्रसंग उठिहाल्यो । यहाँलाई आफूलाई कुन पहिरन लगाउँदा बढी सुहाएको जस्तो महसुस हुन्छ ?
प्राय: म जे पनि लगाउँछु । क्याजुएल्ली भन्नु पर्दा पाइन्ट सर्टहरू, कुर्ताहरू नै मन पर्छ । तर, सज्जिएर जहाँ जाँदाखेरि पनि मलाई साडी नै लगाएको मन पर्छ ।

प्रतिक्रिया