मनसुनबाट ४८ जिल्ला प्रभावित : ६३ जनाको मृत्यु, ३५ बेपत्ता

काठमाडौं । यस वर्षको मनसुनबाट ४८ जिल्ला प्रभावित भएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । संचारकर्मीसँग कुरा गर्दै राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्षको मनसुनबाट ४८ जिल्ला प्रभावित भएको बताए ।
उनले यस वर्षको मनसुनबाट ६३ जनाको मृत्यु भएको, ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको जानकारी दिए । त्यस्तै ५ सय ६५ नीजि आवास पूर्ण रुपमा क्षति भएको, १ सय ५५ घर आंशिक रुपमा क्षति भएको तथा ३७ सरकारी भवन र १२ वटा सामुदायिक भवन तथा विद्यालय क्षति भएको पनि उनले बताए ।
त्यसैगरी निर्माणाधिन र निर्माण सम्पन्न भइसकेका २५ जलविद्युत आयोजना, ७ वटा काठेपुलसहित २६ वटा मोटरेवल पुल र २५ वटा झुलुङ्गे पुलमा क्षति भएको पनि उनले जानकारी दिए । गत वर्षको मनसुनबाट क्षति भएका २२ जिल्लाका ४ हजार ९ सय ३७ लाभग्राहीको लागि २९ करोड ९९ लाख २६ हजार २५० रुपैयाँ रकम अवास निर्माण, पुनर्निमाण, पुनस्र्थापना र प्रवलीकरणका लागि निकासा गरिएको पनि उनले बताए ।
यस आर्थिक वर्षमा भने विभिन्न ८ जिल्लाका ५ सय ७३ लाभग्राहीका लागि २ करोड ८६ लाख ५० हजार रुपैयाँ तत्कालै अस्थायी आवास निर्माणका लागि सम्बन्धित जिल्ला विपत व्यवस्थापन समितिको कोषमा रकम निकासा गरि सकिएको पनि उनले बताए ।
प्राधिकरणले हाल मनसुनबाट भएको क्षतिको विवरण देशभरबाट संकलन गरिरहेको पनि अर्यालले बताए । विपत् परेका जिल्लाहरु सिन्धुपाल्चोक, मनाङ, गोरखा, बाजुरा, गुल्मी, अर्घाखाँची, धादिङ, ताप्लेजुङ र पाँचथरमा टेण्ट, त्रिपाल, कम्बल, स्लिपिङ ब्यागहरु र माग भए अनुसारका सामग्रीहरु पठाइएको पनि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले बताए ।

प्रतिक्रिया