ललितपुरमा आज जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै

नेपालखोज २०७८ साउन ५ गते १२:३१

ललितपुर । ललितपुर महानगरपालिका सहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एन्ड जोन्सनको खोप लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गरेका सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने उल्लेख छ ।

यसैगरी गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाले जारी गरेको सूचनामा भने पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकका साथै हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई समेत सो खोप दिइने जनाइएकोे छ ।

महालक्ष्मीले सोमबारदेखि सुरू गरेको सो खोप अभियानमा हिजो खोेप लगाउन छुटेका सो उमेर समूहका व्यक्तिलाई खोप लगाइने जारीे सूचनामा उल्लेख छ ।

ललितपुरमा मंगलबार दिइने जोन्सन एन्ड जोन्सनको खोप निरीक्षण गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले महानगपालिका-१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे जानकारी लिएका थिए । रासस

प्रतिक्रिया