मंगलबार, साउन १२, २०७८

छाना भएको पुल !

नेपालखोज २०७८ साउन ५ गते १२:४०

छाना भएको पुल निकै कम भेटिन्छ । खासगरी छाना भएको पुल बनाउनुको कारण काठबाट बनेका पुलहरुलाई बढी टिकाउ बनाउनको लागी हो । काठबाट बनेका पुलहरु बढी वर्षात हुने तथा हिँउ पर्ने ठाउँमा घामपानी तथा हिउँ सहनु पर्दा छिटो मक्किने तथा कुहिने भइ भाँचिने सम्भावना हुन्छ । काठको आयु बढाउन घामपानीबाट जोगाउनु पर्दछ । यदि घामपानीबाट काठ जोगियो भने काठको आयु १०औ गुना बढी हुन्छ । यदि काठका पुलहरुलाई खुला छोडिदिने हो भने घामपानीले यस पुलको आयु २०-३० वर्ष मात्र हुने गर्दछ । तर त्यही पुललाई यदि छाना राखि बनाइयो भने त्यस्ता पुलहरुको आयु सय वर्ष भन्दा बढी हुने गर्दछ । यसैले पनि बढी वर्षात हुने ठाउँहरुमा पुललाई छाना राखेर बनाउने गरिन्थ्यो । तर यस किसिमको छाना राखेर बनाइएको पुल नेपालमा भने बिरलै पाइन्छ ।

विश्वमा यस किसिमको छाना भएको पुल अत्यधिक भेटिन्छ । अहिलेसम्ममा सबैभन्दा पुरानो छाना भएको पुल स्विट्जरल्याण्डमा रहेको पुल हो । यो सन १३६५ मा बनेको थियो । करिव ७०० वर्ष पछि सन १९९३ मा आगलागीबाट यो पुल ध्वस्त भए पछि सन १९९४ मा पूननिर्माण गरिएको थियो । यस किसिमको छाना भएको पुल यूरोप तथा अमेरिकामा अठारौ शताव्दीमा सबैभन्दा बढी बनेको देखिन्छ । सन १७८६ मा जर्मनमा बनेको एउटा छाना भएको काठे पुलमा अझै पनि गाडी गुड्ने गर्दछ ।

नेपालमा भने कतिवटा छाना भएका पुलहरु थिए भन्ने यकिन तथ्य भेटिदैन । तर केही छाना भएका काठेपुलको तस्विर मसंग छ । जसमा पुरानो फोटो लुक्ला र इलामको छ भने अर्कोको मिती थाहा भएन । पूर्वी नेपालको सोलुखुम्बु जिल्लामा लुक्लाबाट नाम्चे जाने बाटोमा दुधकोशी नदी माथी रहेको छाना भएको पुल धेरै अगाडि बनेको देखिन्छ भने अर्को पुरानो इलामको छ । तेश्रो फोटो पश्चिम नेपालको खवाङ बगरबाट पूर्वी रुकुम जाने बेलामा खवाङ खोलामाथि बनेको पुल छ, जुन खासै पुरानो जस्तो देखिदैन ।

यहाँ राखिएको तस्विरमा देखाइएको पुल लुक्लाबाट सगरमाथा हिमालको फेदी नजिकैको नाम्चेबजार तर्फ जाँदा बाटोमा पर्ने दुधकोशी माथिको पुल हो । यस पुलको विशेषता भन्नु नै यो पुलमा छाना लगाइएको हो । दुर्गम स्थलमा सिमेन्ट वा फलामका तार र पाताले बनाइएका पुल हुदैनथे । यि सामग्री बोकेर लैजान कठिनाइ हुने तथा त्यति सुलभ पनि नहुने हुँदा पुल बनाउँदा स्थानिय स्तरमा पाइने अत्यधिक काठको नै प्रयोग हुने गर्दथ्यो । तर यसरी प्रयोग हुने काठ घामपानीको झेल्नुपर्दा केही वर्षमा नै काठ कुहेर फेरी नयाँ पुल बनाउनु पर्ने बाध्यता हुन्थ्यो । यसले गर्दा पनि दुइ पाते छाना राखेर पुल बनाइएको थियो ।

छाना राख्नुको दोश्रो कारण यो क्षेत्रमा पर्ने हिँउको कारणले पनि हुनसक्छ । यदि हिँउ पुल माथी जमेर तौल अत्यधिक भएमा पुल भाच्चिने सम्भावना हुन्थ्यो । पुल माथी दुबै तर्फ भिरालो बनाइएको दुइ पाते छानाले हिँउ पुल माथी पर्दैनथ्यो । जसले गर्दा पुल भाच्चिने सम्भावनाबाट पनि जोगिन्थ्यो ।

सगरमाथा बेसक्याम्प जाने बाटोमा दुधकोशी नदिलाई ४-५ पटक पार गर्नुपर्छ । तसर्थ यो पुल कुन ठाँउको हो भन्न सक्दिन । धेरैवटा झोलुङ्गे पुलहरु बनेका छन् । यहाँ बनेको झोलुङगे पुलहरुमा सबैभन्दा लामो हिलारी ब्रिज छ । शायद यहि नजिकै कतै हुन सक्छ ।

प्रतिक्रिया