बुधबार, वैशाख १९, २०८१

के खाएर माटोलाई दोषी देखिस्–ए बज्जे ?

नेपालखोज २०८० वैशाख ४ गते ८:३८
हस्त गुरुङ 

नयाँवर्ष २०८०को पहिलो विहानीमा पनि मेरो मन भतभती पोलिरह्यो। गएको वर्ष २०७९ मा मेरो देशको माटो दोषी ठहरिएको घटनाले त्यसै त्यसै बेचैन भैरहेको थिएँ। नयाँ वर्ष शुरु हुँदा पनि त्यही घाउ उचाटिएर मन भरङ्ग हुन थाल्यो। त्यसमाथि पेशा निवृत्त भैसकेको र परिवारको सहारा खोजिरहेको अवस्थामा कमाएर खान दिने, दुख विमारमा हेरचाह गर्ने सारथी सम्झिएको छोरा, छोरी र बुहारीले अब हामी नेपाल बस्दैनौं, विदेश जान्छौं भनेर कचकच गरिरहेका थिए। नेपालमा भएको जग्गा जमिन बेचेर भएपनि खर्च जुटाइदेओ भनेर हामी माथि थामिनसक्नु बोझ बनिरहेका थिए।

यस्तै पिरलोमा परिरहेको बेला नयाँ वर्षको पहिलो विहानी आयो। मन सम्हाल्नै गाह्रो भयो। तर सम्हालिन त परेकै थियो। अनि आफ्नो पुरानै बानी अनुसार, एउटा किताब निकालेर पढ्न बसेँ। पढ्दा–पढ्दै मध्यान्हतिर रणबहादुर शाहको (सन् १७५५–१८०६)  जीवनीतिर रम्न पुगेँ। उनको जीवनीमा अनेकन कहाली लाग्दा प्रसँगहरू भेटिए। तर त्यस्तै प्रसंगहरू मध्येको एउटा प्रसंगले म भित्र असीम जागरण, उत्साह र प्रेरणा उत्पन्न गरिदियो। अब म माटोलाई दोषी देख्ने न्यायाधीश वकिल, ठेकेदार, सरकारी इन्जिनियर, माटो विशेषज्ञ, प्रतिवेदनकर्ता र मेरा छोरा, बुहारी र छोरी समेतलाई सातो खाने गरि हप्काउन र तर्साउनका लागि मानसिक रुपमा सक्षम र सबल भैसकेको थिएँ।

मलाई यसरी आत्मप्रेरणा दिने प्रसंग रणबहादुर शाहको जीवनीमा परेको रहेछ – जसले यो देशको माटो विरुद्ध बिराउने वा बिज्याइँ गर्ने र माटोलाई तिरस्कार गरी दोषी देख्नेलाई र माटो विरुद्ध विष वमन गर्नेलाई घुच्चुकमा हानेर एकै मुक्कामा थला पारिदिने शक्तिशाली प्रश्न दियो – माटोको विरुद्ध बिज्याइँ गरेर विराएर र विष वमन गरेर कसरी मुख देखाउन सक्छस्, ए बज्जे।

पहिले ऐतिहासिक कथा सुनाउँछु, अनि माटो विरुद्ध बिज्याइँ गर्ने र विष वमन गर्नेको फेहरिस्त बताउँछु। रणबहादुर शाहको प्रसंग बाटै शुरु गरौं।

नेपाल दरबारका महारानीहरू र भारदारहरूबीच किचलो परेर रणबहादुर शाहलाई जबरजस्ती स्वेच्छाले गद्दी त्याग गर्न लगाइयो। उनी जोगीको भेष धारण गरि स्वामी महाराज बनाइएर बनारसतिर धपाइए। यही मौका छोपेर ईष्ट ईण्डिया कम्पनीका अंग्रेज साहेबहरूले नेपाल खाल्डोमा व्यापार कोठी (रेजिडेन्सी) खोल्न नेपाल  दरबारमा दबाव र पहुँच बढाए।

पृथ्वी नारायण शाहको देहवसान पछि उनका जेठा छोरा प्रतापसिँह शाह गद्दीमा बसेका थिए– तर उनी राजकाज भन्दा पनि तन्त्रलम्पट हुने उद्यम गरिरहेका थिए। भूतप्रेत, मसान, बीर जगाउने तन्त्र साधक तान्त्रिकहरूको कब्जामा परेर तान्त्रिक हुने धुनमा थिए। दरबारको हालीमुहाली यिनकी जेठी महारानीको हातमा थियो। देवर बहादुर शाह (खास नाम फत्तेबहादुर शाह) पनि बेतियातिर निर्वासित रहेको बेला नेपाल दरबार र ईष्ट ईण्डिया कम्पनीबीच काठमाडौंमा व्यापार कोठी खोल्न सहमति भएको थियो। तर दरबारमा चौतरिया र भारदारहरूबीच किचलो थामिएको थिएन। महारानीले आफ्नो बल थप्न बहादुर शाहलाई स्वदेश फिर्ता बोलाएकी थिइन्।

बहादुर शाह नेपाल फर्किएपछि उनी नेपाल विस्तारको अभियानमा होमिए।  तिब्बतसँगको झमेला हतियार र युद्धकै बलमा सुल्झाउन भनि उनले तिब्बत हानिदिए। नेपालले दिगर्चा–ल्हासामा समेत लुटपाट मच्चाएर तिब्बत लगभग कब्जा गरिदियो। तर तिब्बतले नेपाललाई खलिता बुझाउनु पर्ने गरी सम्झौता भयो। तिब्बतले एकपटक खलिता पनि बुझायो। तर दोस्रो खलिता बुझाउन आएन तिब्बतको अर्घेल्याइँलाई तह लगाउन बहादुर शाहले फेरि तिब्बतमा चढाई गरे। यसपटक नेपाली सेना तिब्बतको भित्री भागसम्म पुग्यो। तर तिब्बतले गुहार मागेकोले चिनियाँ सेना नेपाली सेनासँग भिड्न आयो। नेपाली सेनालाई दपेटेर नुवाकोटको बेत्रावतीसम्म आइपुग्यो। नेपाललाई नसोचेको आपत आईलाग्यो। चिनियाँ सेनालाई त्यहाँबाट हटाउनै पर्ने भो। तर आफ्नो बुताले भ्याउने थिएन। त्यसैले चीनको बादशाहलाई खलिता बुझाउने र उनको आज्ञापालना गर्ने भनि सम्झौता गरेर चिनियाँ सेनालाई फिर्ता पठाइयो। यस युद्धमा नेपाललाई केही फाइदा भएन उल्टो धेरै घाटा मात्र भयो। सरकारी ढुकुटी पनि टाट पल्टियो र चीनको अधिनमा पनि बस्नु पर्ने भयो। यस मामिलालाई लिएर बहादुर शाहलाई फेरि निर्वासन गरि बेतिया पठाइयो।

स्थिति केही साम्य भएपछि ईष्ट ईण्डिया कम्पनीले नेपालमा व्यापारको कोठी खोल्ने काम अघि बढाउन नेपाल दरबारलाई दबाव दिन थाल्यो। नेपाल दरबारको ढुकुटी टाट पल्टेको समय थियो। अंग्रेजको व्यापार कोठी खोल्न कीर्तिपुरमा जमिन पनि ठीक पारिसकेको थियो। त्यही बहानामा सरकारी ढुकुटीबाट मो.रु १८ हजार झिकियो।

यसबेला रणबहादुर शाह स्वामी महाराज बनेर बनारसमा बसिरहेका थिए। उनले पनि वेपरवाह खर्च गरिरहेका थिए। नेपाल दरवारले उनको व्यवस्थापनको लागि भारी रकम खर्च गर्नु परिरहेको थियो। यही संकटपूर्ण अवस्थामा नेपाल दरबारले महारानी सुवर्णप्रभा र चौतरिया शेरबहादुर शाह (रणबहादुर शाहका सौतेनी भाई) समेतको निर्णयमा सरकारी ढुकुटीबाट अठार हजार झिकेर खर्च गरेका थिए। यो खर्चको हिसाब ठीक दुरुस्त थिएन।

तत्कालीन दरबारका ढुकुटीका माकुल काजी त्रिभुवन प्रधान थिए। उनी चौतरिया शेरबहादुर शाहका आफ्नै मामा थिए। यिनकी दिदी मयजूलाई नेवारकी छोरी भएपनि रुपवती भएकी हुनाले प्रतापसिंह शाहले जर्वजस्ती दरबार भित्राएर रानी बनाएका थिए। जो मयजू महारानी भनेर चिनिन्थिन्। यिनै मयजू महारानीको बलमा त्रिभुवन प्रधान नेपाल दरबारको ढुकुटीको माकुल काजी बन्न पाएका थिए। रणबहादुर शाह यिनीसँग डराउँथे पनि र रिसाउँथे पनि। उनलाई गद्दी त्याग गरी जोगी बनाउन बल गर्ने र बनारसतिर धपाउनमा त्रिभुवन प्रधानको पनि भूमिका छ भन्ने शंका रणबहादुरलाई थियो।

समयचक्र घुम्दै जाँदा रणबहादुरको बनारस निर्वासन समाप्त भयो। उनी जवरजस्ती नेपाल फर्किए र शासनभार लिन सफल भए। अब उनी दरबारबाट शेरबहादुर शाह र त्रिभुवन प्रधानलाई हटाउन चाहन्थे। यही योजना बमोजिम दरबारको ढुकुटीबाट झिकिएको अठार हजार रकमको खोजी भयो। त्रिभुवन प्रधान पक्राउ परे। उनलाई केरकार गर्दा सो रकम झिकिएको हो, तर बेमनासिव खर्च भएको छैन, कीर्तिपुरमा अंग्रेजको कोठी बनाउँदा खर्च भएको हो। यसमा महारानी र शेरबहादुर शाहको पनि सहमति थियो भनि बयान दिएछन। महारानी राजराजेश्वरी हेलम्बुतिर निर्वासित भैसकेकी थिइन्। त्रिभुवन प्रधान र शेरबहादुर शाह शंकाको घेरामा थिए। त्रिभुवन प्रधान पक्राउ परिसकेको थिए, तर शेरबहादुर शाह अझै फन्दामा परिसकेका थिएनन्।

यही कुरो टुंगो लगाउन त्रिभुवन प्रधानकै घर(रणमुक्तेश्वर) मा दरबार शुरु भो। त्रिभुवन प्रधानलाई अगाडि उभ्याएर राजा रणबहादुर शाहले आफ्ना सौतेनी भाई शेरबहादुर शाहलाई केरकार गर्न शुरु गरे।

रणबहादुरले शेरबहादुरलाई हेर्दै रिसाएर प्रश्न गरे– ए शेरे, ढुकुटीको त्यत्रो धन झिकेर खर्च गर्न तँ पनि लागेको थिइस् हैन त ? लौ भन, ढुकुटी फोरेर कुन बैरीसँग युद्ध गरिस् ? देशको माटो कति बढाइस् ? फिरङ्गीलाई नेपालमा कोठी खोलिदिन नेपालको धन खर्च किन गरिस् ? किन ? लौ भन्, तैले माटो विरुद्ध बिज्याइँ गरिस् कि गरिनस् ? शेरबहादुरले बिन्ती गरेछन्— मैले जानिन्, बिराएँ, माफी पाउँ। रणबहादुरले भनेछन् — हेर शेरे मेरो धन मासेको भए त म माफी पनि दिन्थेँ होला। तर तैँले माटोको ढुकुटी मासेर नकाम गरिस् ! के खाएर माटोको विरुद्ध बिज्याइँ गरिस्–ए बज्जे ? तैँले कसरी, कुन मुखले माफी माग्छस्— ए बज्जे ?

यति भनिसकेर उनले निर्णय सुनाएछन् – माटोलाई दोष दिने, माटोको विरुद्ध बोल्ने र माटोको ढुकुटी फोरेर बिज्याइँ गर्ने जति सबै नराधम हुन्। मातृद्रोही हुन्। तिनलाई यो माटोमा उभिने हक छैन।

तदनुसार राजाज्ञाको पालना भयो।

२०८० साल बैशाख १ गतेको बिहान– रणबहादुर शाहले उहिले गरेको यही प्रश्न र निर्णयले मलाई मुख खोलेर त्यही प्रश्न दोहोर्‍याउन अतुल प्रेरणा दियो। म भित्र असीम आत्मबल भरिदियो। मलाई आफु अझै ज्यूँदै छु जस्तो लाग्यो। जसरी नव वर्षमा म असीम आत्मबलले भरिएको छु र म चाहन्छु, माटोको माया गर्ने हामी सबै नेपालीहरूमा यस नववर्षले यस्तै आत्मबल भरिदेओस् –र, हामी सबैले समवेत स्वरमा प्रश्न गर्न सकौं – माटोको बिरुद्ध के खाएर बिज्याइँ गरिस– ऐ बज्जे ? के खाएर माटोलाई दोषी ठहर्‍याइस– ए बज्जे ?

मलाई नव वर्षले अत्यन्त उत्साह भरिदिएको छ। त्यसैले म सोध्छु— के खाएर सिक्टाको माटोलाई दोषी देखाईस्—ऐ बज्जे ? तँ नराधम, मातृद्रोही होस कि होईनस् ? लौ भन्– यो माटोमा उभिने तेरो हक छ र ?

मधेशको जमिन नेपालको अभिन्न अंग होइन, त्यहाँ नेपालको हक कायम छैन भनेर कसरी बोल्न सकिस् – ए बज्जे ? ए नराधम, तँ मातृद्रोही होस् कि होईनस्। यो माटोमा उभिने तेरो अधिकार छ र ? कसरी मुख देखाउन सक्छस्— ऐ बज्जे ?

लिपुलेक–लिम्पियाधुरामा जनगणना गराउने काम कसरी पन्छाउन सकिस्— ऐ बज्जे। तँ मातृद्रोही होईनस् र ?

नेपाली राष्ट्रिय परिचयपत्र, नेपाली नागरिकता, नेपाली पासपोर्ट र नेपालीको व्यक्तिगत जैविक सूचना बायोमेट्रिक समेतमा परेका जानकारीहरू रुजु गर्न विदेशी संस्थालाई जिम्मा दिने धुत्र्याइँ कसरी गर्न सकिस्—ऐ बज्जे।

तँ भातृद्रोही होईनस् र ?

नेपालमा बसेर उन्नति, प्रगति सम्भव छैन, नेपाल खत्तम भैसक्यो भनि ठूल्ठुलो स्वरमा विदेशमा बसेर किन कुर्लन्छस् – ऐ बज्जे ? नेपालमा उखडा ल्याउन चाहने तँ मातृद्रोही होईनस् र ?

कोशी सम्झौता, गण्डकी सम्झौता, महाकाली सम्झौता, र कालापानी सम्झौता कसरी गर्न सकिस्– ऐ बज्जे ? यो माटोमा उभिने तेरो हक छ र ?

अरुण, कर्णाली, जस्ता प्र्रचुर विद्युत उत्पादन गर्ने थलो अर्थात् सेतो सुनखानी विदेशीलाई हस्तान्तरण गर्न कसरी सकिस् – ऐ बज्जे ? तैँले माटोको विरुद्ध बिराएको छैनस् र ? कसरी मुख देखाउन सक्छस् ?

अब पश्चिमबाट सूर्य उदाउँछ, महाकालीबाट खरबौं आम्दानी आउँछ भनेर कसरी छल्न सकिस् – ऐ बज्जे ? आज टनकपुरको आफ्नै भूमिमा पाईला राख्न विदेशीको अनुमति लिन पर्ने अवस्था कसरी ल्याइदिइस् – ऐ बज्जे। तँ मातृद्रोही होइनस् र ?

सरकारी ढुकुटी (राजस्व) को रकम मासेर विकास निमार्णका काम जति अलपत्र पारेर कसरी भाषण गर्दै कुर्लिन सक्छस् – ऐ नराधम ?

देशका भरभराउँदा १७ हजार जनशक्तिलाई मृत्युको मुखमा धकेलेर, तिनको मृत शरीरलाई आड बनाएर कसरी शासनसत्तामा बस्न सकेकोछस् ऐ – जनद्रोही। तँ भातृद्रोही होइनस् र ?

देशमा जातीय द्धन्द्ध चर्काएर, आपसी भाईचारा हरण गरि राष्ट्रलाई कमजोर, निरीह र बिदेशीको ईशारामा नचाउने कुकृत्य कसरी मच्चाउन सकिस्— ऐ बज्जे। तँ मातृघाती होइनस् र ? यो माटोमा उभिने तेरो हक छ र ?

बाप बैरी, भाई बैरी, गुट बैरी, जात बैरी, सम्प्रदाय बैरी तथा नश्ल बैरी साधना गर्ने खेललाई कसरी राजनीति गरेको भनेर परिभाषित गर्न सकिस् – ऐ बज्जे ? आफ्नै खुट्टामा बञ्चरो हान्ने खेलमा परिरहेको थाहा पाउन सक्दैनस्– नराधम।

ए नराधम तैंले माटोको बिरुद्ध धेरै बिज्याइँ गरिसकिस्। माटोको विरुद्ध धेरै नकाम गरिसकिस्। माटोलाई दोषी देखाएर महापाप गरिसकिस्। माटोलाई उपेक्षा गरिस्, घृणा गरिस्। यो माटोमा उभिने तेरो हक छ र ? यसमा  बिराएँ भनेर माफी मागेर पुग्दैन, तैँले माफी पाउँदैनस्– नयाँ वर्ष २०८० ले यहि सन्देश लिएर आएको छ।

नयाँ वर्ष २०८० को जय मनाऔं। र, प्रश्न गरौं–के खाएर माटोको बिरुद्ध बिज्याइँ गरिस् – ऐ बज्जे ? के खाएर माटोलाई दोषी देखिस् – ऐ बज्जे ? के खाएर माटोको विरुद्ध बोल्दैछस् – ऐ बज्जे ? तँ मातृद्रोही होईनस् र ?

अन्तमा: नेपालमा भविष्य पनि छैन, अवसर पनि छैन भनेर विदेश जान चाहने मेरा आफन्तहरूलाई यति भन्छु – नेपालमा जति सुरक्षित भविष्य नेपालीका लागि अन्त कतै छैन। यहाँ यति धेरै अवसर छ, जहाँ हात हाले पनि प्रतिस्पर्धा अत्यन्त न्युन छ। यहाँ धेरै र अति राम्रो काम गरिरहन पनि पर्दैन। नराम्रो काम नगरी थोरै मात्र राम्रो काम गर्दा पनि रातारात नाम कमाउन सकिन्छ। यहाँ जजसले नाम र प्रशंसा कमाएका छन् – तिनलाई राम्ररी जाँच्नुहोस् त ! तिनले न त धेरै परिश्रम गरेका छन्, न नै अहो ! भन्नु पर्ने अति उत्तम काम नै गरेका छन्।

यहाँ माटो प्रति बिज्याइँ मात्र नगरे पनि आदर सम्मान पाईन्छ। तर बिदेशमा लाखौं लाख ईमान्दार र प्रतिभाशाली मानिसहरू आफ्नो पहिचान बनाउनकै लागि जीवन भर कडा परिश्रम गर्दछन् – तर पनि आफ्नो पहिचान बनाउन सक्ने थोरै मात्र हुन्छन्।

अझ पनि तपाईहरू नेपालमा अवसर नै छैन भनेर भन्नुहुन्छ भने त तपाईले माटोको उपेक्षा गरिरहनु भएको छ। तपाईलाई धक फुकाएर सोध्न मिल्छ– माटोको उपेक्षा किन गरिरहेको छस् – ऐ बज्जे ?

Source-INS

प्रतिक्रिया