कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि गर्ने परीक्षा बोर्डको निर्णय

काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् । गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो । यस वर्ष सय पूर्णाङ्कै परीक्षा भौतिक उपस्थितीमा गर्ने पनि अध्यक्ष पौडेलले जानकारी दिए ।
गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो । यो विधिको आलोचनासमेत भएको थियो । यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
प्रतिक्रिया