शुक्रबार, जेठ ३, २०८२

‘आफ्नो गल्ती ढाकछोप गर्ने क्षेत्रीय सभापतिसहित नेताहरु पार्टी कार्यालयमा धर्नामा बसे’

नेपालखोज २०७८ साउन ५ गते २१:१५

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशिल सदस्यता वितरणलाई लिएर पार्टी कार्यालयमा क्षेत्रिय सभापति दिनेश मिश्र धर्ना बसेको विषयलाई लिएर सर्लाहीका कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् । सर्लाही जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रिय सभापति मिश्र पार्टी मुख्यालयमा धर्ना बसेको टिप्पणी गरेका छन्।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘सर्लाही जिल्लामा क्रियाशिल नविकरण र समायोजनको विषयमा धाँधली भएको छैन् । ममाथि लगाईएको आरोप झुठो हो । नयाँ सदस्यताको हकमा क्षेत्रिय सभापतिलाई विधानतः अधिकार दिईएको छ, वडा सभापतिमार्फत जति नयाँ फाराम पठाईयो, त्यसको भरपाई दिईयो । फाराम बुझ्ने काम गर्नुभयो, तर ईन्ट्री दिएन । ईन्ट्री नदिएको ठाउँमा उल्टै उनले १५० जना आफ्नो मान्छे राखेर ईन्ट्री गराए । क्षेत्रिय सभापति दिनेश मिश्रले गल्ती गर्नुभएको छ ।’

उनले आफूले जंगीलाल रायको रोहबरमा फाराम दिएको पनि सुनाए । उनले भने,‘अहिले केन्द्रीय कार्यालयमा जो जो साथीहरु धर्नामा बस्नुभएको छ, उहाँहरुले नै गल्ती गर्नुभएको छ । बद्मासी उनीहरुले नै गरेको हो ।’ यो विवादको घट्ना सर्लाही जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को भएको कुमारले सुनाए ।

उनले कागजजात सही भएकोलाई सदस्यता दिनुपर्ने र गलत भएकाहरुलाई कारबाही गर्नुपर्ने बताएका छन् । आफूले केन्द्रबाट लगेको फाराम लगेर क्षेत्रिय सभापतिलाई बुझाएको उल्लेख गर्दै क्षेत्रिय सभापति मिश्रले ११ वटा वडामा फाराम नै नदिएको र त्यही बचेको फरामलाई गलत रुपमा प्रयोग गरेको पनि उनले आरोप लगाए ।

उनले ब्रम्हपुरीको वडा नम्बर ७ मा ५९ जना क्रियाशिल सदस्यहरुमा ५८ जनाको नाम हटाएर क्षेत्रिय सभापति मिश्रले आफ्नो मान्छेको नाम राखेको दाबी गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य जंगीलाल रायले जिल्ला सभापति नागेन्द्रको भनाईलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया