बिहीबार, चैत १५, २०८०

चीनमा बन्यो सुपर हाई स्पिडको म्यागलेव ट्रेन (भिडियोसहित)

नेपालखोज २०७८ साउन ६ गते ७:३८

बेइजिङ । चीनले सुपर हाई स्पिडको म्यागलेव ट्रेन (Maglev train) को अनावरण गर्‍यो । चिनियाँ सञ्‍चार माध्यमहरुका अनुसार ६ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा दौडने यो ट्रेन रेलवेको लिकभन्दा अलिकति माथिबाट उडेजस्तो देखिन्छ । चिनियाँ प्रविधिमा आधारित यो रेलको निर्माण तटीय सहर किंगदाओ (Qingdao) मा भएको हो । यो रेल विद्युत् चुम्बकीय बल (Electro-magnetic force) को मद्दतले कुद्छ ।

चीनले परिवहनको क्षेत्रमा यो प्रविधिको प्रयोग बितेका दुई दशकदेखि गरिरहे पनि त्यो सीमित स्तरमा छ । सांघाईमा म्यागलेव ट्रेनका लागि एउटा छोटो लाइन छ जसको माध्यमबाट यो रेल सहरबाट मुख्य एयरपोर्टसम्म पुग्छ ।

चीनमा अहिलेसम्म इन्टर सिटी वा अन्तरराज्यीय मैग्लेव लाइन निर्माण गरिएको छैन । सांघाई र चेन्दुजस्ता केही सहरमा त्यस्तो रेल लाइन विस्तारको सम्भावनाको विषयमा अनुसन्धान भइरहेको छ । ६ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुद्दा यो रेलले सांघाईबाट बेइजिङसम्मको यात्रा अढाइ घण्टामै तय गर्नेछ । सांघाईबाट बेइजिङको दूरी एक हजार किलोमिटरभन्दा अलिकति बढी छ अर्थात् नेपालको मेचीदेखि महाकालीसम्मको महेन्द्र राजमार्ग जति नै ।

चीनमा तीव्र गतिको म्यागलेव रेल २००३ देखि नै चल्न थालेको थियो । जसको अधिकतम गति ४ सय ३१ किलोमिटर प्रतिघण्टा छ । यो रेलले सांघाईको पुडोङ एयरपोर्टलाई सांघाईको पूर्वी भाग लन्गयाङसँग जोड्छ । जापान तथा जर्मनीले पनि म्यागलेव ट्रेन चलाउने योजना बनाएका थिए तर यसको नेटवर्क निर्माणमा निकै ठूलो खर्च हुने भएकाले उनीहरुले उक्त योजनालाई थातीमा राखेको बताइन्छ ।
भिडियो : न्यु चाइना टीभी

प्रतिक्रिया