सोमबार, फागुन १४, २०८०

बीपीलाई सम्झिँदै स्मृति दिवस !

नेपालखोज २०७८ साउन ६ गते १६:०१

काठमाडौं । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९औं स्मृति दिवस बुधबार विशेष कार्यक्रम गरी मनाइएको छ ।

प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी नेपाली राजनीतिका सर्वाधिक सम्मानित नेता हुन् । नेपाली कांग्रेस पार्टीको स्थापना गरी राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका उनी २०१५ को आमनिर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । स्मृति दिवसका अवसरमा सुन्दरीजलस्थित बीपी संग्राहलयमा विशेष कार्यक्रम गरी बीपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरुले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।

त्यसैगरी सुशील कोइराला मेमोरियल फाउन्डेसनले बीपी स्मृति दिवसकै अवसरमा बुधबार गरेको वेबिनारमा प्रोफेसर डा. जयराज आचार्यले कोइरालाको व्यक्तित्वको चर्चा गर्दै तत्कालीन समयमा अल-इन्डिया रेडियोले उनको निधनबारे प्रशारण गरेको समाचार जस्ताको त्यस्तै वाचन गरेर सुनाएका थिए । आचार्य तात्कालीन समयमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्थ्यो ।

जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि कसैसँग कुनै प्रकारको सम्झौता नगरेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरी राणाविरुद्व क्रान्तिको सूत्रपात गरेका बीपी २००७ सालको क्रान्तिका शीर्ष नेता हुनुहुन्थ्यो । जुन क्रान्तिको बेलमा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । क्रान्तिपछि संविधानसभा निर्वाचनमार्फत प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो तर राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि बीपीले संसदको चुनाव स्वीकारे ।

२०१५ सालको आमचुनावमा नेपाली कांग्रेसलाई दुईतिहाइ बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बने । बीपी नेतृत्वको सरकारले बिर्ता उन्मूलन, वनको राष्ट्रियकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागु गरेको थियो । उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भए । तर जननिर्वाचित सरकारले १८ वर्ष काम गर्न पाउँदा नपाउँदै २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद् भंग गरेपछि बीपीले आठ वर्ष सुन्दरीजल जेलमा बिताउनुपर्‍यो । रिहा भएपछि मुलुकभित्र बसेर सशक्त आन्दोलन गर्ने वातावरण नदेखेर उनी भारत प्रवासमा गए । त्यहीँबाट पञ्चायतविरुद्ध, सशस्त्र क्रान्ति चलाए । आठ वर्ष भारत प्रवासमा बिताएपछि मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा पर्ने संकेत ठानेर बीपी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्किए ।

प्रजातन्त्रका लागि लडे पनि राष्ट्रियताको सवालमा आफ्नो र राजाको घाँटी जोडिएको अभिव्यक्ति बीपीले दिएका थिए । त्यसको केही वर्षमै मुलुकमा जनमत संग्रह घोषणा भयो । पञ्चहरुले धाँधली गरी बहुदल हराएको भन्दै परिणाम स्वीकार नगर्न पार्टीभित्र तीव्र दबाब परे पनि बीपीले परिणाम स्वीकार गरे । मुलुकको सार्वभौमिकताका सामु प्रजातन्त्र गौण हुन्छ भन्ने कुरालाई व्यवहारमै उतार्नु बीपीको चानचुने निर्णय थिएन । बीपीको निधन भएको चार दशक पुग्नै लाग्दा उनले प्रतिपादन गरेको मेलमिलापको नीति अझैं सान्दर्भिक छ ।

प्रतिक्रिया