मंगलबार, असार १७, २०८२

पार्टी एकता विरोधी कुनै पनि गतिविधि नगर्न ओलीको ध्यानाकर्षण

नेपालखोज २०७८ साउन ६ गते १७:५७

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले पार्टी एकता विरोधि कुनै पनि खालका गतिविधि नगर्न अध्यक्ष केपी शर्मा ओलीको गम्भिर ध्यानाकर्षण गराएको छ ।

वरिष्ठ नेता नेपाल पक्षको स्थायी समितिको बैठकले पार्टी एकता वार्ता चलिरहेका बेला आफू पक्षीय सांसदहरुलाई स्पष्टिकरण सोध्ने तथा नेता माधवकुमार नेपालविरुद्ध उत्तेजक नाराबाजी लगाउने लगायतका गतिविधिप्रति आपत्ति जनाउँदै त्यस्ता खालका एकताविरोधी गतिविधि नगर्न अध्यक्ष ओलीको ध्यानाकर्षण गराएको हो ।

बुधबार बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दैै नेता रघुजी पन्तले भने, “एकता वार्ता चलिरहेको र १० बूँदे सहमति बुझाएको अवस्थामा स्पष्टिकरण सोध्ने र नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवं पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनु पर्दछ । यस्ता गलत र उत्तेजक काम कारवाहीविरुद्ध खेद व्यक्त गर्दै यस्ता गतिविधिलाई तत्काल रोकेर पार्टी एकताको कामलाई गम्भिरताका साथ अघि बढाउन यो बैठक पार्टी अध्यक्ष कमरेडको गम्भिर ध्यानाकर्षण गराउँदछ ।”

नेपाल पक्षले अदालतको फैसला अनुसार आफ्ना पार्टीका २२ जना सांसदले स्वविवेक प्रयोग गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अधिकार रहेको निष्कर्ष निकाल्दै यसै विषयलाई लिएर उनीहरुलाई स्पष्टिकरण सोध्ने काम गरेर पार्टीको एकतालाई भाँडने काम गर्न कुनै हालतमा नमिल्ने तर्कसमेत गरेको छ । बैठकले पार्टीभित्र एकताको वातावरण बनिरहेको उल्लेख गर्दै त्यसलाई विथोल्ने काम नगर्न पनि अध्यक्ष ओली पक्षीय नेताहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया