बिहीबार, वैशाख ६, २०८१

सफलतामा श्रीलंकाको फड्को ! (तस्बिरसहित)

लगभग दुई करोड जनसंख्या भएको कृषिप्रधान मुलुक श्रीलंकामा २० वटा विश्वविद्यालय छन् ।

नेपालखोज २०७८ असोज १ गते १८:३५

कोलम्बो । विभिन्न धर्मावलम्बी बसोबास गर्ने श्रीलंका प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश हो । यहाँ हिन्दु, सिख, इसाई र बुद्धधर्म मान्नेहरू बस्ने गर्छन् । हिन्दु धर्म ग्रन्थअनुसार भगवान् राम र रावणबीच पनि यही देशमा युद्ध भएको थियो ।

प्राकृतिक सौन्दर्यकै कारण विभिन्न देशका मानिस श्रीलंका भ्रमण गर्छन् । लगभग दुई करोड जनसंख्या भएको कृषिप्रधान मुलुक श्रीलंकामा २० वटा विश्वविद्यालय छन् ।

टापुको देश भनेर चिनिने श्रीलंकाको आकार आँसुको थोपाको जस्तै छ । ६५ हजार ६ सय १० वर्गकिलोमिटरमा फैलिएको यसको पश्चिममा हिन्द महासागर र पूर्वमा बंगालको खाडी छ । यस देशको आधिकारिक नाम डेमोक्र्याटिक सोसलिस्ट अफ श्रीलंका हो । ७० प्रतिशत बौद्ध धर्मावलम्वी रहेको यस देशमा १४ प्रतिशत हिन्दु, ७ प्रतिशत मुस्लिम र ३ प्रतिशत इसाई धर्मका मानिस बसोबास गर्छन् । यहाँका मानिसलाई कुनै जाति वा समुदायको नामबाट नभई श्रीलंकन वा लंकन समुदायबाट चिन्ने गरिन्छ ।

एक समय हात्तीको देश भनेर चिनिने श्रीलंकामा अहिले भने हात्तीको संरक्षण गर्नुुपर्ने अवस्था छ । हात्ती मार्ने क्रम बढेकाले संरक्षण हुन सकिरहेको छैन । हात्तीको तस्करी गरी हात्तीका अंगहरू विभिन्न देशमा बिक्रीका लागि पुर्‍याउने गरिएको छ ।

Sri Lanka - Ceylon - Country Profile - Nations Online Project

यस्तै नरिवलका लागि प्रसिद्ध भारत, नेपाल, पाकिस्तान र बंगलादेश पनि हुन् । तर बढी परिमाणको नरिवल उत्पादन भने श्रीलंकामा हुने गरेको छ । खानपिनमा श्रीलंकाको जस्तो युनिक खाना अरू देशमा पाइँदैन । सधैं ताजा पाइने ‘सी फुड’ यस देशको पहिचानयुक्त खाना हो ।

शिक्षाको क्षेत्रमा श्रीलंका दक्षिण एसियामै प्रसिद्ध मुलुक हो । यहाँको साक्षरता प्रतिशत ९२ प्रतिशतभन्दा बढी छ । शिक्षाको विकासबाट मात्र समग्र देशको विकास सम्भव हुने विश्वास गरेको यस देशले शिक्षामा बर्सेनि बजेटमा उल्लेख्य लगानी गर्ने गरेको छ ।

यस मुलुकको ग्रामीण भेक पनि बाह्य पर्यटकका लागि आकर्षक छ । ग्रामीण भेकमा घुम्दा फरक संसारमा घुमेको अनुभूति हुनेगर्छ । यस्तै सरसफाइको क्षेत्रमा पनि विश्वका धेरै देशभन्दा यो देश अघि छ । श्रीलंका विश्वमा यस्तो देश हो जुन देशको झन्डामा सबै धर्मावलम्बीको चिह्न छ । श्रीलंकामा एडम्स पिक नामको एक अग्लो पहाडी टाकुरो छ ।

यहाँ विभिन्न धर्मावलम्बीका मानिस दर्शनका लागि जाने गर्छन् । श्रीलंकामा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल कोलम्बो सहरमा छ । यस देशका मानिसहरू लामखुट्टेको टोकाइबाट हैरान हुने गर्छन् । बर्सेनि यहाँका मानिसले डेंगु रोगका कारण ज्यान गुमाउनुपरेको अवस्था छ ।

श्रीलंका एक प्रमुख पर्यटकीय गन्तव्य…
बुद्धका मूर्ति धेरै आकर्षक छन् । यस देशमा प्राकृतिक दृष्यहरू छन् । स्वच्छ नीला नदी, हरियाली जंगलसँगै आकर्षक झर्नाहरू यस देशका आकर्षक पक्षहरू हुन् । पर्यटनलाई मुख्य आधार बनाएको यस देशमा बाह्य पर्यटकको संख्या बनाउन श्रीलंकाले पर्यटनसम्बन्धी नयाँ नीतिहरू बनाउँदै गएको छ । पानीको पर्याप्त स्रोतसँग श्रीलंकामा हाइड्रोपावर कम्पनीहरू छन् ।

यस्तै वनस्पति तथा जडीबुटीका लागि पनि श्रीलंका प्रसिद्ध छ । श्रीलंकाले दालचिनी निर्यात गर्ने राष्ट्रमा विश्वमै चिनिन्छ । भारतमा श्रीलंकाबाट ९४ प्रतिशत दालचिनी श्रीलंकाबाटै निर्यात हुने गरेको छ । यस्तै विश्वको गुणस्तरीय चिया उत्पादन गर्ने देशमा पनि श्रीलंका नै चिनिन्छ । विश्वमा सबैभन्दा राम्रो चियाको ब्रान्ड पनि श्रीलंकामै पाइन्छ । विश्वको कुल निर्यातमध्ये १२ प्रतिशत चिया यसै देशबाटै हुने गर्छ ।

हरियाली वातारवरण, आकर्षक नदी तथा झरना, सुन्दर फाँट, सामुद्रिक किनारलगायतले पर्यटकको मन लोभ्याएको छ । यो देशको इतिहास हिन्दु र बुद्ध धर्मसँग जोडिएको छ । राम, सीता, हनुमान र रावणको प्राचीन कथासँग यो देशको इतिहास जोडिएको छ । यसको पुरानो नाम सिलन थियो, अपभ्रंश हुँदै श्रीलंका भएको विश्वास गरिन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि श्रीलंका आकर्षक गन्तव्य हो । यस मुलुकमा भ्रमण गर्ने विभिन्न आकर्षक पर्यटकीय गन्तव्यहरू छन् । यस देशका विभिन्न महत्त्वपूर्ण पर्यटकीय स्थलहरूमध्ये मिहिन्तेल एक हो । लाखौं तीर्थयात्री जाने यो स्थललाई बुद्ध धर्मको उत्पत्ति स्थलका रूपमा लिइन्छ ।

No description available.

अनुराधा नामको पहाडछेउमा धार्मिक तथा ऐतिहासिक संरचनाको यात्रा गर्न सकिन्छ । यस्तै उनावतुना सानो समुद्री किनार हो । यस ठाउँमा वनभोज गर्न, स्विमिङलगायतको उद्देश्य राखेर पर्यटकहरू जाने गर्छन् । विभिन्न प्रजातिका रंगीन माछा र कछुवा समुद्री किनारबाट अवलोकन गर्न सकिन्छ । समुद्र किनारमा विभिन्न परिकारका स्वादिष्ट खानाका परिकार पनि पाइन्छ ।

यस्तै उडावालावे नेसनल पार्क पशुप्रेमीहरूका लागि सबैभन्दा राम्रो ठाउँ हो । यस ठाउँमा हात्ती, हरिण, मृग, मयूरलगायत सयौं पशुपक्षीको अवलोकन गर्न पाइन्छ । अर्कातिर रावणा झरना यो देशकै सबैभन्दा ठूलो झरना हो । गर्मीको मौसममा नुहाउनका लागि यो सानदार पर्यटकीय गन्तव्य हो । यस्तै देशको मध्य भागमा अवस्थित दम्बुला गुफा मन्दिर अर्को प्रमुख गन्तव्य हो । यो दम्बुला स्वर्ण मन्दिरका रूपमा पनि चिनिन्छ । यो बुद्ध धर्मसँग सम्बन्धित पवित्र धर्मस्थल पनि हो ।

यस्तै अरुगम बायबिच सबैभन्दा राम्रो समुद्री किनारमध्येमा एक पर्यटकीय गन्तव्य हो । युरोपको कुनै आकर्षक समुद्री किनारसँग मिल्दो यस समुद्री किनारमा मानिसहरू आनन्दका लागि जाने गर्छन् । सिगिरिया रग फर्ट श्रीलंकाको एक सुन्दर ठाउँ हो । हरेक वर्ष हजारौं पर्यटकहरू आउने यस स्थानले श्रीलंकाको प्राचीन सभ्यता देखाउँछ । यस्तै मिरिसा बिच गर्मीका बेला पौडी खेल्नेहरूका लागि धेरै आकर्षक ठाउँ हो । समुद्री किनारमा रहेका आकर्षक बिरुवा, आधुनिक होटेलहरूले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ ।

No description available.

यस्तै एला सहर यस देशको प्रमुख पर्यटकीय गन्तव्य हो । पहाड र जंगलका बीचबाट गुड्ने रेल हेर्दाको मज्जा बेग्लै हुने गरेको छ । हाइकिङ र र्‍याफ्टिङका लागि पनि यो देश उत्तिकै प्रसिद्ध छ । ट्रुथ टेम्पल श्रीलंकाको पवित्र पर्यटकीयस्थलमध्येमा एक हो । यहाँ बुद्धको दाँतको अवशेष छ ।

श्रीलंका प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । प्राकृतिक सुन्दरताको लागि दैवी शक्तिबाट वरदान पाएको राष्ट्रका रूपमा लिइन्छ यस देशलाई । यस देशका शासकको कुशलताले गर्दा नै जनताले सहजपूर्वक जीवनयापन गरिरहेका छन् । आर्थिक अवस्था मजबुत हुँदै गएको यस देशको बेरोजगारी समस्या ४ दशमलव ५ प्रतिशत मात्रै छ । कम बेरोजगारको तथ्यांकबाटै प्रस्ट हुन्छ कि श्रीलंका विकासको मार्गमा सफलतापूर्वक फड्को मार्दै गएको देश हो ।

No description available.

-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया