बिहीबार, वैशाख १३, २०८१

‘खोप लगाउनु हुन्न भन्नेहरू पनि अहिले खोजी-खोजी लगाइरहेका छन्’

नेपालखोज २०७८ साउन ७ गते १६:२७

अहिले खोपलाई लिएर मानिसमा केही सोचाइ परिवर्तन भएको छ ।

पहिलो कुरा त हामीले के बुझ्नुपर्छ भने, जुन फर्स्ट वेब र सेकेन्ड वेबको बीचमा हेर्ने हो भने त्यो बेला कोरोना संक्रमितको संख्या झन्डै औसतमा ८० प्रतिशतको हाराहारीमा थियो । तर, अहिले औसतमा झन्डै-झन्डै दुई हजारको हाराहारीमा संक्रमित संख्या रहेका बेला निषेधाज्ञा खोलिएको छ । यस्तो बेलामा तपाईं-हामीले जति नै सेफ्टी अपनाए पनि सबैले व्यवहारमा लागु गर्ने कुरा धेरै कम देख्छु ।

देखिरहेका छौं भनौं न । बजारमा भिडभाड उत्तिकै देखिन्छ । अनि भन्यो भने उल्टो गाली गर्लान् भन्ने डर पनि छ । त्यसले गर्दा नेपालमा संक्रमित भइरहने सम्भावना अथवा तपाईं-हामीले सोचेको जस्तो संक्रमित ह्वात्तै घटला त्यसपछि पनि २०/२५ प्रतिशतको हाराहारीमा जुन पोजेटिभिटी रेट छ घटेर १५/१० हुँदै जानुको सट्टामा त्यो स्थिर भएर रहेको छ । किनभने मानिसहरूको चहल-पहल, भिडभाडले यो समस्या देखिरह्यो । अर्को कुरा अहिले जुन खोप केन्द्रहरू अस्तव्यस्त भएको देखिन्छ । त्यो पनि अर्को कारण हुन सक्ने मैले देख्छु । पहिलेको जस्तो एकैदिन ८/९ हजारको हाराहारीमा संक्रमित हुने त देखिँदैन तर अहिलेको जुन संक्रमणदर छ त्यो घट्दै जानुको सट्टा थुरै माथि जान्छ कि भन्ने मलाई लाग्छ ।

यो के कारणले भन्दै छु भने यस्तै खालको सेकेन्ड वेबको सुरुवातीमा भेरोसेलको भ्याक्सिन जुन भर्खर लगाउने बेलामा मानिसहरूको धेरै भिड देखिएको थियो । अहिले पनि खोप लगाउने ठाउँमा त्यस्तै भिड भएको र व्यवस्थित नभएको हुँदा आगामी दिनमा फेरि संक्रमण बढ्ने सम्भावना मैले देख्छु । तपाईं-हामीले घट्ने अनुमान गरिरहेको समयमा घट्ने नभएर अब संक्रमितको संख्या बढ्छ कि भन्ने मलाई लागेको छ । संक्रमित बढ्नेबित्तिकै जुन बन्दाबन्दी गर्ने गरिएको छ, त्यसको पक्षमा म कहिँले पनि थिएन । तर, बन्दाबन्दी नगर्न हामीले पनि अलिकति मिहिनेतचाहिँ पक्कै गर्नुपर्छ । जुन जनस्वास्थ्यको मापदण्ड पालना गर्ने कुरा छ त्यसलाई व्यवहारमा लागु गर्नुपर्‍यो । त्यो मापदण्ड जहिलेसम्म व्यवहारमा लागु गरिँदैन तबसम्म हामीले यो समस्यासँग जुधिराख्नुपर्ने देखिन्छ । फेरि कति लामोसम्म समय भन्ने कुराको पनि कुनै टुंगो छैन । किनभने, भाइरसले बेलाबेलामा स्वरुप परिवर्तन गरिहेको छ र यसले अगाडि पनि गरिरहन्छ । फेरि त्यो भाइरसको स्वरुप परिवर्तन हुनेबित्तिकै सबै खराब नै हुन्छ भन्ने त होइन । कुनैकुनैले एकदमै खराब पनि गर्न सक्छ, कुनै सामान्य पनि हुन सक्छ । त्यही भएर आगामी दिनमा पब्लिकका तर्फबाट हामी सबैले सचेत र सतर्क रहनुपर्ने देख्छु मैले ।

हामीले मात्रै होइन, सरकारका तर्फबाट पनि टेस्टिङ, ट्रेसिङ र आइसोलेसन गर्ने कुरा पनि निरन्तर गर्नुपर्छ । धेरै कम ठाउँमा अनि शुल्क महँगो गरियो भने नागरिक परीक्षण गर्न एकदमै कम जाँदो रहेछ भन्ने कुरा प्रस्ट छ । तर, सरकारले परीक्षणका लागि सहज पहुँच बनाइदियो भने धेरैले परीक्षण गर्छन् जस्तो लाग्छ । परीक्षण गर्ने र परीक्षण गर्दाखेरि संक्रमण देखियो भने उसको सम्पर्कमा आएका मान्छेलाई ट्रेसिङ गर्नुपर्‍यो । संक्रमित भएको मान्छेलाई आइसोलेसनमा बस्न इन्करेज गर्नुपर्‍यो । त्यस्तो गर्न सक्यो भने अरु थप मानिसलाई संक्रमित हुनबाट जोगाउन सकिन्छ ।

अर्को महत्त्वपूर्ण कुरा भनेको खोप नै हो । जसलाई मैले धेरै प्राथमिकतामा राख्ने गरेको छु । र, अहिले खोपलाई लिएर मानिसमा केही सोचाइ परिवर्तन भएको पनि मैले महसुस गरेको छु । पहिले खोप लगाउनु हुन्न भन्ने मान्छेहरू अहिले खोप खोजिरहेका छन् । जसलाई मैले उपलब्धिका रुपमा लिएको छु । अहिले सबैले खोप खोजे पनि पाउन सकिरहेका छैनन् । यसमा सरकारले त्यत्तिकै मिहिनेत गर्नुपर्ने हुन्छ । सरकारले खोप ल्याउन त ल्याउँछु भनिराखेकै छ तर, त्यो भनाइ र गराइमा फरक पर्नु भएन । भनेको कुरा कार्यान्वयन पनि हुनुपर्‍यो । अब फेरि पनि लकडाउन नहोस् भन्नका लागि पहिला आमनागरिकको पक्षबाट आफ्नो ठाउँबाट गर्नुपर्ने छँदै छ । किनभने, सेकेन्ड वेबभन्दा अगाडि हेर्नु त राजनीतिक पृष्ठभूमिमा लाखौं मानिस यताबाट उता, उताबाट यता ल्याइए । त्यसपछि विभिन्न चाडपर्वहरूमा नगर नगर भन्दा-भन्दै धेरै भिडभाड गरियो । त्यो हामी नै सतर्क नभएर हो ।

त्यसभन्दा पछि अलिअलि केही मापदण्ड पालना गरेको देखिएको थियो । त्यो भनेको राम्रो पक्ष हो । सरकारका तर्फबाट कुनै एक जनालाई संक्रमण भयो भने उसलाई आइसोलेसन राख्ने र यसको सम्पर्कमा आएका व्यक्तिलाई ट्रेसिङ गर्न सक्यो भने त्यो व्यक्तिबाट संक्रमण सर्न सक्ने जोखिम रहँदैन । सँगसँगै पछिल्लो समय जुन जिन सिक्वेनसिङको कुरा छ, जुन फलानो फलानो देशमा यस्तो खालको भेरियन्ट देखापर्‍यो भने तुरुन्त हामीले त्यसको एनालाइसिस गर्नुपर्‍यो र त्यहीअनुसार हामीले आगामी योजना बनाउने र योजना बनाउने मात्रै होइन त्यसलाई कार्यान्वयनमा पनि ल्याएर अगाडि बढ्नुपर्‍यो ।

र अन्तिममा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त खोप नै हो । खोपले धेरै हलसम्म मानिसलाई सिकिस्त हुनबाट जोगाउँछ । संक्रमण हुनबाटै रोक्छ भन्ने त होइन, संक्रमित त हुन सक्छ तर, कडा नहुन सक्छ भन्ने हो । नेपालमा फेरि पनि भारतमा देखिएको डेल्टा भेरियन्टकै कारण नेपालमा पनि तेस्रो चरणको संक्रमण आउन सक्छ भनेर अहिले नै ठोकुवा गर्दिनँ तर, भारतमा कुनै पनि नौलो भेरियन्ट, हुन त सबै भेरियन्ट खराबै हुन्छ भन्ने छैन । तर, भेरियन्ट अफ कन्सर्न भन्छौं हामीले त्यस्तो खालको भेरियन्ट नयाँ आयो र भारतमा केही गरि पिक लियो भनेचाहिँ अवश्य पनि नेपालमा ठोक्किन आइपुग्छ । किनभन्दा हाम्रो जुन ओपन बोर्डर छ, त्यसले गर्दा हामी कन्ट्रोल पनि गर्न सक्दैनौं चाहेर पनि । त्यसका लागि हामीसँग उपाय भनेको कि सतर्कता अपनाउने कि त सरकारले त्यहाँ व्यवस्थित गरिदिनुपर्‍यो । त्योभन्दा अरु उपाय छैन । अवश्य पनि भारतमा नयाँ भेरियन्ट देखिनु, संक्रमितको संख्या बढ्दै जानु भनेको हाम्रो लागि खतराको घण्टी हो भनेर बुझे हुन्छ । त्यो पछिल्लो दुईवटा वेबले नै पुष्टि भइसकेको छ ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया