पार्टी एकता प्रयासलाई निरन्तरता दिने एमालेको निष्कर्ष

नेपालखोज २०७८ साउन ७ गते १८:२२

काठमाडौं । नेकपा एमालेले पार्टी एकता प्रयासलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ । बिहीबार बसेको एमाले केन्द्रीय कमिटीले बैठकले पार्टी एकताका लागि अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच पनि संवाद भइरहेको छ ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने विषयमा भने केही निर्णय गरेको छैन् । नेपाल पक्षले जवाफ पठाए पनि त्यसउपर कुनै कारबाही नभएको ज्ञवालीले बताए ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहानेहरुलाई विगतका गल्तीहरुलाई बिर्सेर स्वागत गर्न सकिने बताएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

उनले भने– ‘पार्टीको एकतालाई कायम राख्नको निम्ति भइरहेको प्रयासहरुका बारेमा हामीले छलफल गरेका छौँ । र यो प्रयासलाई अझ थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई, पार्टीका सबै साथीहरुलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ । अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्नेगरी र पार्टीमा योगदान गर्नेगरी आउन चाहाने साथीहरुलाई विगतका गल्तीहरु बिर्सेर पनि स्वागत गर्न सकिने कुराहरु बताउनुभएको छ । एकताको लागि प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएका साथीहरुलाई कमी, कमजोरीहरु सच्याएर आउनका निम्ति अपिल गर्दै आजको बैठक सकिएको छ ।’

सोमबारदेखि सुुरु भएको एमाले केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई जनताको नजरमा आदर्श बनेर जनताले विश्वास र भरोसा गर्ने नेतृत्वको रुपमा स्थापित निर्देशन दिएको पनि प्रवक्ता ज्ञवालीले बताए । जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्न पनि अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

प्रतिक्रिया