शनिबार, जेठ ४, २०८२

हुनेखानेकै उपचारमा राष्ट्रिय ढुकुटी स्वाहा, प्रधानमन्त्री देउवा भने अपवाद

नेपालखोज २०७८ साउन ८ गते २१:१४

काठमाडौं । हुने खाने र ठूलाबडालेसमेत राष्ट्रिय ढुकुटीबाट उपचार खर्च लिएर उपचार गरेको भन्दै बेलाबेला आलोचना हुँने गरेको छ । राज्यकोषबाट उपचार खर्च लिने सरकार प्रमुख र नेताको सूची हेर्ने हो भने निकै नै लामो छ ।

राष्ट्रिय ढुकुटीबाट विदेशमा उपचार गर्नेमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले उपचार खर्च बापत एक करोड ४० लाख रुपैयाँ, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एक करोड २६ लाख रुपैयाँ, सदाचारी नेताका रूपमा चिनिएका पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाले एक करोड ८७ लाख रुपैयाँ, पूर्व उपराष्ट्रपति परमानन्द झाले राज्यकोषबाट नौ लाख ३० हजार रुपैयाँ, पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले ८० लाख रुपैयाँ लिएका छन् ।

त्यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष रहेका डा. तुलसी गिरीले २० लाख रुपैयाँ, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पाँच लाख रुपैयाँ, नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले ५० लाख रुपैयाँ, माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले ३८ लाख रुपैयाँ, कांग्रेस नेता एवं पूर्वमन्त्री गोविन्दराज जोशीले २७ लाख ८० हजार रुपैयाँ लिएका छन् ।

त्यस्तै, कांग्रेसकै नेता एवं पूर्व मन्त्री खुमबहादुर खड्काले २० लाख रुपैयाँ, जसपाका नेता पूर्व मन्त्री महेन्द्रराय यादवले १४ लाख रुपैयाँ उपचार खर्च लिएका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाका दर्जनौं सांसदले पनि राज्य कोषबाट उपचार खर्च लिएका छन् । राज्य कोषबाट अपारदर्शी ढंगले उपचार खर्च लिएको भन्दै राजनीतिक दलका नेताहरूको विरोध हुँदै आएको छ ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने यो मामिलामा अपवाद देखिएका छन् । सरकारको रेकर्डमा देउवाले उपचार खर्चको नाममा अहिलेसम्म कुनै सुविधा लिएको देखिएको छैन्।

प्रतिक्रिया