शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्री देउवा र एमाले नेता नेम्वाङबीच आरोप-प्रत्यारोप

नेपालखोज २०७८ साउन ९ गते ७:४६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङबीच आरोप–प्रत्यारोप भएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री देउवालाई वधाइ दिने क्रममा नेम्वाङले नयाँ सरकार गठनका लागि एमालेका केहि सांसदको हस्ताक्षर लिएर अदालत जानु र विश्वासको मत माग्नु बहुदलीय संसदीय व्यवस्थाविपरित भएको बताए ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनु स्वभाविकै भए पनि आफ्ना दलका सांसदलाई ह्वीप लगाउने र अरु दलका सांसदसँग स्वतन्त्र मत माग्नुले गलत संस्कारको सुरुवात भएको बताए ।

नेम्वाङको जवाफ दिन रोष्टममा पुग्नुभएका प्रधानमन्त्री देउवाले नेम्वाङ आफ्नो धारणा राखे लगत्तै बैठकबाट बाहिरिएको भन्दै असन्तुष्टि पोखे । त्यति मात्रै होइन प्रमुख विपक्षी दलकासंसदीय दलका नेता केपी शर्मा ओली उपस्थित नभएको र उपनेता नेम्वाङ पनि आफ्नो जवाफ नसुनी बाहिरिएकोमा देउवाको आपत्ती थियो ।

यस्तै अभिव्यक्ति देउवाले यसैसाता विश्वासको मत लिने क्रममा पनि राखेका थिए । ‘नेम्वाङजीलाईसंविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा उहाँलाई बढी थाहा छ, तर उहाँले आज गलत ब्याख्या गर्नुभयो ।’ देउवाले भने ।‘संविधानसभा अध्यक्ष हुँदा नेम्वाङले त्यतिबेला अब कहिल्यै पनि संविधान भत्किने छैन र संसद भंग हुने छैन भनेको अहिले पनि सम्झिरहेको छु, देउवाले सुुनाए । आफूले विश्वासको मत लिने क्रममा ह्वीप जारी गरेको भन्ने आरोप पनि गलत भएको प्रष्ट्याए ।

परमादेशबाट आएको सरकार जनताप्रति उत्तरदायी हुनेमा नेम्वाङको आशंका थियो । सरकार गठन भएको एक साता वढी समय बितिसक्दासमेत सरकारले पूर्णता पाउन नसकेको भन्दै उनले कोरोना महामारीका बेलामा विलम्ब नगर्न आग्रह गरेका थिए । संघीय संसद र प्रदेश सभाको बैठक नसार्नसमेत नेम्वाङले त्यसै मञ्चबाट सुझाए । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गरेको राम्रा कामहरुको स्मरण गर्दै उनले ती कामलाई निरन्तरता दिन आग्रह गरे ।

देउवाले आफ्नो सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको भन्दै जति महंगो होस् ऋण सापट गरेरै भए पनि सबै नागरिकलाई खोप लगाइने दोहोर्याए ।

प्रतिक्रिया