टोकियो ओलम्पिक बिनादर्शक सञ्चालन !

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ३२औं गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता दर्शकबिनै सञ्चालन भएको छ । हिजो (शुक्रबार) देखि जापानको राजधानी टोकियोमा जारी ओलम्पिकमा कोरोना संक्रमणको जोखिम मध्यनजर गर्दै दर्शकलाई प्रवेश निषेध गरिएको हो ।
टोकियो ओलम्पिकमा २ सय ७ देशका ११ हजार ३ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । नेपालबाट ५ खेलाडीसहित २३ सदस्यीय टोली टोकियो पुगेका छन् । आज (शनिबार) बाट नेपालका खेलहरु पनि सुरु भएका छन् । प्रतियोगितामा कोरोना संक्रमणको जोखिम हुने भन्दै दर्शकलाई सहभागिताका लागि रंगशाला प्रवेशको अनुमति दिइएको छैन ।
आज भएको प्रतिस्पर्धामा नेपाली खेलाडी सोनिया भट्ट जुडोको ४८ केजीमुनिको तौल समूहमा रसियाकी डोल्गोभा इरिनासँग १०-० ले पराजित भएकी छन् ।

सुटिङमा १० मिटर एयर राइफलमा कल्पना परियार भने ५० जनामा ४६औं भएकी छन् । उनले यो स्पर्धामा आफ्नै राष्ट्रिय रेकर्ड तोडेकी छन् । यद्यपि उनी फाइनल प्रतिस्पर्धाका लागि भने छनोट हुन सकिनन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मिटर एयर राइफल इभेन्टमा शनिबार भएको खेलमा कल्पनाले छनोट चरणमा ६१६.८ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् ।
यसअघि १३औं दक्षिण एसियाली खेलकुदमा कल्पनाले ६१४.५ स्कोर बनाउँदै राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । कल्पनाले ६१६.८ स्कोर गरे पनि अन्तिम चरणमा भने स्थान बनाउन असफल भइन् । छनोटबाट शीर्ष आठ खेलाडीले मात्र फाइनल खेल्नेछन् ।
भट्ट र परियार दुवै वाइल्डकार्डमार्फत टोकियो ओलम्पिकमा सहभागिता जनाउने अवसर पाएका हुन् ।
साउन १२ (जुलाई २७, मंगलबार) भने पौडीका एलेक्जेन्डर शाह (एलेक्स) ले १०० मिटर फ्री स्टाइलमा र साउन १३ मा गौरिका सिंहले त्यही इभेन्ट्समा खेल्ने तालिका छ ।
साउन १५ (जुलाई ३०) मा एथलेटिक्सकी सरस्वती चौधरीले १०० मिटर दौडमा भाग लिनेछिन् । त्यस्तै पाराओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले प्रतिस्पर्धा गर्नेछिन् ।
हिजो भएको उद्घाटन समारोहमा ओलम्पिकमा भाग लिएका विभिन्न २ सय ७ देशले मार्चपास गरेको थियो । केही खेलको प्रतिस्पर्धा भने बुधबारबाटै सुरु भइसकेका थिए ।
टोकियो ओलम्पिकमा सहभागिता जनाउन विश्वभरका खेलाडी, प्रशिक्षक र अफिसियलहरु जापान पुगेका छन् । उद्घाटन समारोहमा नेपालका तर्फबाट पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले झन्डा बोक्ने अवसर पाएका थिए । उद्घाटन समारोहमा फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रों, अमेरिकाकी प्रथम महिला जिल बाइडेनलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया