बुधबार, वैशाख १२, २०८१

टोकियो ओलम्पिककाे तेस्रो दिन : घरेलु टोली जापानको उत्कृष्ट प्रदर्शन

नेपालखोज २०७८ साउन १० गते २०:३६

काठमाडौं । टोकियो ओलम्पिकको तेस्रो दिनमा घरेलु टोली जापान प्रभावशाली देखिएको छ । आइतबार एकै दिन जापानले चार स्वर्ण पदक हात पारेको छ । आइतबार चीनले पनि तीन स्वर्ण पदक जित्दै अग्रता कायम राखेको छ । चीनका लागि उपयुक्त ठहरिएका डाइभिङ र भारोत्तोलनमा आइतबार तीन सवर्ण पदक जितेको हो । भारोत्तोलनमा चीनकै बराबरीको अर्को शक्ति उत्तर कोरिया यस पटकको ओलम्पिकमा सहभागी नभएपछि यसको फाइदा चीनलाई प्रस्ट रूपमा देखिएको छ ।

अमेरिका भने पहिलो दिनको तुलनामा दोस्रो दिनमा लयमा देखिएको छ । पौडीको ४०० मिटर व्यक्तिगत मेड्लीमा चेज कालिज र जे लीथरल्यान्डले स्वर्ण र र रजत जिते पछि अमेरिकाको पदकको यात्रा सुरु भएको हो । कालिजले स्वर्ण जितेको सो स्पर्धामा अस्ट्रेलियाका ब्रान्डन स्मिथले कांस्य पदक जिते ।

पुरुषको ४०० मिटर फ्रिस्टाइलमा ट्युनेसियाका हाफनोइ अहमदले सबैको अनुमानलाई गलत साबित गर्दै स्वर्ण जिते । सो स्पर्धामा अस्ट्रेलियाका ज्याक म्यागलिनले रजत र अमेरिकाका केरन स्मिथले कांस्य पदक जिते । महिलाहरूको ४०० मिटर मेड्लीमा जापानकी युही ओहासीले स्वर्ण पदक जितिन् । अमेरिकाकी एमा एवेन्टले रजत र अमेरिकाकै हेली फ्लिकिन्गरले कास्य पदक जिते । महिला ४ गुणा सय मिटर फ्रिस्टाइल रिलेमा अस्ट्रेलियाले विश्व कीर्तिमान सहित स्वर्ण पदक जित्यो भने क्यानडाले रजत तथा अमेरिकाले कास्य पदक जिते ।

जापान आइतबार टुङ्गो लागेको जुडोको दुई वटै स्पर्धामा स्वर्ण पदक सफल भयो । जापानकी एबे युताले महिला ५२ किलो तौल समूहमा स्वर्ण पदक जितिन् । फ्रान्सकी बचार्ड अमान्डाइनले रजत तथा हङ्गेरीकी पप रेका र बेलायतकी चेल्सी गील्सले कास्य पदक जिते ।

पुरुष ६६ किलो तौल समूहमा जापानकी ऐबेहाइ मुफीले स्वर्ण पदक जितिन् । जर्जीयाकी भाजा लाभ्गेसीलीले रजत पदक जितिन् । दक्षिण कोरियाका ए एन बाउल र ब्राजिलका डानियल काग्नानीले कास्य पदक जिते । आइतबार भएको स्केट बोर्डिङको केन स्ट्रिटमा जापानका युटो होरीगोमेले स्वर्ण, ब्राजिलका भेल्भिन होइफरले रजत तथा अमेरिकाका एटन जागरले कास्य पदक जिते ।

आर्चरीको महिला टिम स्पर्धामा दक्षिण कोरिया पहिलो भयो रसिया ओलम्पिक कमिटी दोस्रो तथा जर्मनी तेस्रो भए । साइक्लिङको रोड रेसमा अस्ट्रियाकी अन्ना काइसोन्फेरले स्वर्ण, नेदरल्यान्डकी भान भ्लुटेनले रजत तथा इटालीकी एलिसा लङ्गोले कास्य पदक जिते ।

सुटिङको महिला १० मिटर एयर पिस्तोलमा ओलम्पिक कमिटी अफ रसियाकी भिटालिना बाट्सा राखिनाले स्वर्ण, बुल्गेरियाकी एन्टोनेटा कोसटाडिनोभाले रजत तथा चीनकी जीयाङ रान्छिन्ले कास्य पदक जिते । पुरुषको १० मिटर राइफलमा अमेरिकाका विलियम सानरले स्वर्ण, चीनका लिहावो सेङले रजत तथा चीनकै यान होराङले कास्य पदक जिते । फेन्सिङको महिला एकल फोइलमा रुस ओलम्पिक कमिटीकी अन्ना डेरिगलोभालाई फाइनलमा हराउँदै अमेरिकी केइफर लीले स्वर्ण पदक जितिन् । युक्रेनकी आइगोर रेजिनले कास्य पदक जितिन् ।

यसैगरी ६७ किलो तौल समूहमा चीनका चेन ली जुयनले स्वर्ण पदक जिते । कोलम्बियाका मिस्कुरा लान्जोले रजत र इटालीका मार्को जानीले कास्य पदक जिते । डाइभिङको तीन मिटर स्प्रिङबोर्डमा चीनले स्वर्ण, क्यानडाले रजत तथा जर्मनीले कांस्य पदक जिते ।

तेक्वान्दोको महिला ५७ किलो तौल समूहमा अमेरिकाकी जोलोटिक अनास्टाजासियाले स्वर्ण तथा रुसी ओलम्पिक कमिटीकी टाटीयाना मीमानाले रजत पदक जिते । पुरुषको ६८ किलो तौल समूहमा उज्बेकिस्तानका रासितोभ उलुबेगले स्वर्ण तथा बेलायतका सिन्डेन ब्राडलीले रजत पदक जिते । सो स्पर्धामा टर्कीकी हाकन रेकेबर तथा चाइनिज ताइपेइकी लोजिया पिङले कांस्य पदक जिते । सफ्ट बलमा जापान र अमेरिकाको बिच स्वर्ण पदकका लागि भिडन्त हुने भएको छ ।

प्रतिक्रिया