शनिबार, जेठ ४, २०८२

१० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन एमाले सांसद् एकजुट

नेपालखोज २०७८ साउन १० गते २१:४२

काठमाडौं । नेकपा एमालेका दुवै पक्षका सांसदले पार्टी एकताका लागि दबाब अभियान सुरु गरेका छन । १० बुँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकताबद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेतासँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदले संयुक्त रूपमा दबाब दिन सुरु गरेका हुन् ।

आइतवार सिंहदरबारमा विघटित कार्य दलका संयोजक तथा सदस्यसँग भेट गरी उनीहरूले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकताबद्ध बनाउन आफूहरूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पार्टी एकतालाई मजबुत बनाउन दबाब अभियान सुरु गरिएको सांसद कृष्णप्रसाद दाहालले जानकारी दिए।

सांसदहरूले देश, नागरिक र लोकतन्त्रका लागि पनि एमाले विभाजित हुन नहुने तर्कसमेत गरेका छन । उनीहरूले विघटित पार्टी एकता कार्य दलका नेतालाई पार्टी एकताभन्दा बाहिर जाने अनुमति नभएको भन्दै सचेत गराएका छन् । छलफलमा विघटित पार्टी एकता कार्य दलका संयोजक तथा सदस्यले १० बुँदे सहमतिको महत्त्व र त्यसको कार्यान्वयनका आवश्यकताबारे सांसदलाई जानकारी गराएका थिए ।

१० बुँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकताबद्ध बनाउन सांसदले आफूहरूलाई आग्रह गरेको विघटित कार्य दलका माधव नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिए ।

प्रतिक्रिया