शनिबार, वैशाख ८, २०८१

राज कुन्द्राको नेपाल कनेक्सन : पस्मिनाको ‘डिल’ ले चम्कायो भाग्य !

नेपालखोज २०७८ साउन ११ गते १९:२०

काठमाडौं । बलिउड नायिका शिल्पा सेट्टीका पति राज कुन्द्रा अहिले अश्लील चलचित्र निर्माणको आरोपमा मुम्बई प्रहरीको रिमान्डमा छन् र उनको समस्या घटने छाँट देखिँदैन । किनभने कुन्द्राकै चार कर्मचारी अहिले उनीविरुद्ध सरकारी साक्षी भएका छन् भने मुम्बई प्रहरी यो प्रकरणको जरोसम्मै पुग्न भरमग्दुर प्रयास गरिरहेको छ ।

यद्यपि हाम्रो यो समाचारको विषय व्यवसायी राज कुन्द्रामाथिको आरोप, त्यसको छानबिन, यो मामिलामा लिइएका बयान, छापा, गिरफ्तारी, घटना विवरण आदि केही होइन । यो केही पुरानो प्रसंग हो जसले राज कुन्द्रालाई नेपालसँग जोड्छ ।

सन् २००४ मा ‘सक्सेस’ पत्रिकाले कुन्द्रालाई ब्रिटेनको सर्वाधिक धनी एसियाई मूलका मानिसको सूचीको १९८ नम्बरमा सूचीकृत गरेको थियो । त्यतिबेला २९ वर्षका राज यो सूचीमा अटाइएका सबैभन्दा युवा व्यक्तिसमेत थिए । एउटा सामान्य व्यक्तिबाट वैभवशाली व्यापारीसम्मको कुन्द्राको यात्रा सरल थिएन । राज कुन्द्राले कलेजको पढाइ पूरा गर्न सकेनन् भने उनले मात्र डेढ लाख भारुबाट व्यापार सुरु गरेका थिए ।

राज कुन्द्राका बुबा बालकृष्ण ब्रिटेनमा एउटा सामान्य बस कन्डक्टर थिए तर नेपालमा यिनै बस कन्डक्टरका छोराको भाग्य बदलियो । जानकारहरुका अनुसार सन् १९९४ मा राज काठमाडौं, नेपाल पुगे जहाँ बसेर गरेको पस्मिना सलको व्यापारले उनलाई मालामाल तुल्यायो । राज नेपालबाट ब्रिटेन फर्कंदा पस्मिना सलको ठूलो अर्डर गरेर फर्किएका थिए । उनले ती सल बेलायतका तमाम ठूला फेसन हाउसहरुमा सप्लाई गरे । यो व्यापारमा लागेको पहिलो वर्ष नै कुन्द्राले करिब दुई करोड पाउन्डको व्यापार गरेको बताइन्छ ।

नेपालबाट गरिएको पस्मिनाको आयात व्यापारपछि राजसँग अन्य व्यापारमा लगानी गर्ने पर्याप्त पैसा जम्मा भइसकेको थियो । त्यसैले सलको आयातमा मात्र कुन्द्रा सीमित रहेनन् उनले हीराको व्यापारमा हात हाले र त्यसमा पनि सफल भए । रूस, युक्रेन तथा संयुक्त अरब इमिरेट्स आदि देशमा व्यापारिक सम्भावना देखेपछि राजले ती देशको खनन, रियल स्टेट अनि ऊर्जाको क्षेत्रमा पनि लगानी गरे । यतिबेलासम्म राजको व्यापारले पखेटा फिँजाइसकेको थियो भने उनको भाग्य चम्काउने पस्मिनाको व्यापार ओरालो लागिरहेको थियो त्यसैले पनि राजले नेपालबाट गरेको यो व्यापारलाई फर्किएर हेरेनन् ।

प्रतिक्रिया