शुक्रबार, वैशाख ७, २०८१

‘दिनरात जनताकै सेवामा छु’

नेपालखोज २०७८ साउन १३ गते ७:३१

‘शंखरापुरमा नियमविपरीतका खानी उत्खनन रोकेका छौं’

काठमाडौं पूर्वी क्षेत्रमा रहेको शंखरापुर नगरपालिकामा ९ वटा वडा छन् । करिब ३३ सय वर्षअघि शंखको आकारमा साँखु सहरको परिकल्पना गरेको आधारमा यो नगरको नाम शंखरापुर राखिएको हो । ग्रामीण बस्ती र भौगोलिक रूपमा विकट रहेको यस नगरको मुख्य विशेषता ऐतिहासिक साँखु सहर, वज्रयोगिनी र शाली नदी छन् । अहिले शंखरापुर नगरपालिकाको मेयरका रूपमा सुवर्ण श्रेष्ठ छन् ।
नेपालखोजको नियमित स्तम्भअन्तर्गत ‘मेयरका कुरा’ मा शंखरापुर नगरपालिकाका मेयर श्रेष्ठसँग हामीले कोराना संक्रमणको पहिलो र दोस्रो लहर, यसलाई नियन्त्रण गर्न गरेको प्रयासहरूमा सोधीखोजी गरेका छौं ।
नगरभित्रका प्रमुख समस्या समाधान गर्न नगरपालिकाले कस्तो पहल गरेको छ ? आगामी योजनाहरू के-के छन् ? लगायत विषयमा मेयर सुवर्ण श्रेष्ठसँग नेपालखोजका लागि केशव भट्टराईले कुराकानी गरेका छन् । प्रस्तुत छ मेयर श्रेष्ठसँगको कुराकानी :

हाइलाइट्स् :

– शंखरापुर धार्मिक रूपमा एकदमै महत्त्वपूर्ण ठाउँ हो । देश-विदेशका मानिसहरू स्वस्थानी कथाकी पात्र चन्द्रावतीले व्रत लिएको ठाउँको अध्ययन गर्न आउने गरेका छन् ।
– धार्मिक पर्यटनलाई आधार बनाएर विकासका काम गरिँदै छ । साली नदी, वज्रयोगिनीलगायत पुराना धार्मिक क्षेत्रको विकास गर्न विभिन्न गुरुयोजना बनाइएको छ ।
– साली नदीको विकास गर्न पहिले डीपीआर बनायौं । त्यसपछि स्नान गर्ने ठाउँ र आकर्षक स्तम्भहरू निर्माण गर्दै छौैं । माधवनारायणको एक महिनासम्म व्रत लिने ठाउँ बनाइसकिएको छ । शाली नदी क्षेत्रमा कम्तिमा चार घण्टासम्म भक्तजनहरू घुम्न सक्ने खालको वातावरण बनाउँदै छौं । -२०७२ सालको भूकम्पले यस क्षेत्रका वज्रयोगिनी, खड्गयोगिनीलगायत प्रायः सबै मन्दिरमा क्षति पुगेको थियो । पुनर्निर्माणको काम जारी छ । विश्वमै उदाहरणीय बुद्धको चैत्यलाई प्यागोडा शैलीमा बनाइएको छ । मणिचूडमा सबैले घुम्न र सम्झनलायकको ७० फिटसम्मको बुद्ध मूर्तिसहितको ऐतिहासिक शान्तिपार्क बनाइएको छ ।
– दोस्रो चरणको कोरोना भाइरस फैलिएका बेला धेरैले लापारबाही गरेको पाइयो । स्वास्थ्य केन्द्रलाई अस्पतालका रूपमा विकास गर्दै डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी राखेर आईसीयू, भेन्टिलेटर र अक्सिजनको सुविधासहित उपचारको व्यवस्था मिलाएका छौं । अझैसम्म पनि बिरामी र कुरुवालाई खाना-खाजाको शुल्क लिने गरेका छैनौं ।
– शंखरापुर क्षेत्रमा धेरै मात्रा डाँडाकाँडा उत्खनन् गरिएका छन् । म मेयर भएर आउनुभन्दा अगाडि नै यो समस्या थियो । राज्यले नै स्वीकृति दिएका बालुवा, माटो र ढुंगा निकाल्ने दुईवटा खानी छन् । तर खानीले नियमविपरीत काम गरे । जथाभावी सञ्चालन गर्दा किसानले बालीनाली लगाउन पाएनन् । बस्तीमा असर गर्नुका साथै खानीजन्य सामग्री र ठूला सवारीसाधनले बाटोलगायत संरचना ध्वस्त भए । जनगुनासो बढेपछि बोर्ड बैठकबाट निर्णय गरेर ८ नम्बरको एउटा खानी बन्द नै गरेका छौं । जग्गा सम्याउने बहानामा उत्खनन् भइरहेका खानीलाई मापडण्डअनुसार मात्रै सञ्चालन गर्ने अनुमति दिएका छौं ।

भौगौलिक विकट क्षेत्रका मानिसको आयआर्जन बढाउन उद्यम कोष खडा गरेका छौं । फिर्ता नहुनेगरी बिनाब्याज पाँच लाख रुपैयाँसम्म दिन्छौं । उद्यमकोषले अहिलेसम्म ८२ वटा कृषक समूहलाई रकम दिइसकेको छ । यो काम ७५३ वटै नगरपालिकामध्ये पहिलोमा हाम्रै हो ।

– ७० प्रतिशत भौगौलिक विकटता रहेको यस ठाउँमा पूर्वाधारहरूको विकास गर्न सकेका छैनौं । सडक अभावले विकासका सम्भावनाहरू ओझेलमा छन् । सीमित बजेट र भौगोलिक विकटताले गर्दा सामान्य सडक पनि बनाउन सकिएको छैन ।
– धार्मिक पर्यटनका माध्यमबाट नगरवासीलाई आत्मनिर्भर बनाउने चाबहिलदेखि साँखुसम्मको सडक सुधार प्रयास गरेका छौं । कागजी मात्र नभई व्यवहारिक रूपमा पनि काम गरेर देखाएका छौं ।
– भौगौलिक विकट क्षेत्रका मानिसको आयआर्जन बढाउन उद्यम कोष खडा गरेका छांै । फिर्ता नहुने गरी बिनाब्याज पाँच लाख रुपैयाँसम्म दिन्छौं । उद्यमकोषले अहिलेसम्म ८२ वटालाई रकम दिइसकेको छ । यो काम ७ सय ५३ वटै नगरपालिकामा पहिलो हो भन्ने मेरो दाबी छ ।
– ठेकेदारले राम्रो काम नगरेर चाबहिलदेखि साँखुसम्मको सडक सुधार नभएको हो । सडक विस्तार आयोजनाले गरिरहेको काममा नगरपालिकाले हस्तक्षेप गर्न मिल्दैन । तर चाँडो काम हुनुपर्यो भनेर धेरै दबाब दिएको छु । समयमा काम पूरा नगर्ने ठेकेदारको ठेक्का तोड्ने भन्ने सूचना प्रकाशनमा आएको जानकारी छ ।

चाबहिलदेखि साँखुसम्मको सडक सुधार प्रयास गरेका छौं । कागजी मात्र नभई व्यवहारिक रूपमा पनि काम गरेर देखाएका छौं ।

– विकास निर्माणको काम सबै दलका नेताहरूको सुझावका आधारमा अघि बढाएको छु ।
– यस नगरपालिकाको गौरवशाली योजनामध्ये साँखु- जहरसिंह-फड्केश्वर-मेलम्ची सडक निर्माणाधीन छ । साँखु-चौकीभञ्ज्याङ जोड्ने सडकको काम पनि हुँदै छ । यस्तै साँखु बजारका बासिन्दा र मणितपुरवासीलाई स्वच्छ खानेपानी खुवाउन एकघर एक धाराको योजना सञ्चालन गर्दै छौं ।
– विशेषगरी सडक, पर्यटन, खानेपानी र वैज्ञानिक कृषि क्षेत्रको विकास गर्न नगरपालिकाले जोड दिएको छ ।
– गत वर्षको ७० प्रतिशत बजेट सदुपयोग भयो । यसपालिको बजेटमा पर्यटन, सडक र कृषिलाई नै प्राथमिकता दिएका छौं ।
– भ्रष्टाचार नहोस् भन्नका लागि १५ लाखमाथिका योजना टेन्डरमार्फत र १५ लाखभन्दा कमका योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्दै छौं । वर्षायाममा काम गर्ने परिपाटीलाई तोडेका छौं ।

‘अर्को चुनावमा जनताले मत दिनेगरी पाइपलाइनमा योजना राखेको छु ।’

– अबको चुनावमा नयाँ कुरा लिएर जानुपर्छजस्तो मलाई लाग्दैन । दिनरात जनताको सेवामै छु । सबै योजना पाइपलाइनमा छिराएको छु । पूरा गर्न फेरि एकपटक जनताले मौका दिनुहुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया