बुधबार, फागुन ९, २०८०

सकियो युद्ध संग्रहालयको निर्माण, राष्ट्रपतिले आज उद्घाटन गर्ने

नेपालखोज २०७८ साउन १३ गते ८:०१

सिन्धुली । सिन्धुलीगढीमा नेपाली सेनाले सुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण पूरा भएको छ । युद्ध सङ्ग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् ।

सेनाले करिब ७ करोड रुपैयाँमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण न्यु ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको हो । भवनको डिजाइनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको हो ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्रहरु, सिन्धुलीगढी युद्धको टाइम लाइन, सेनाको नजरमा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्रहरु, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, ब्रिटिस योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्ताबेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको २०७३ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए ।
नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडौं कब्जा गर्न इस्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको इतिहास छ ।

प्रतिक्रिया