जसपाको विवाद समाधान गर्न निर्वाचन आयोगद्वारा इजलास गठन

काठमाडाैं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को विवाद निरुपण गर्न इजलास गठन गरेको छ । आयोग पदाधिकारीहरुको आज बसेको बैठकले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ ।
इजलासले जसपाको दुबै पक्षमध्ये कुन पक्षलाई आधिकारिता दिने भन्नेबारे निर्णय गर्न आगामी साउन ३ गते आइतबार दुबै पक्षलाई बोलाएको छ ।
सुनुवाका लागि दुवै पक्षले कानुन व्यवसायीलाई लिएर इजलासमा सहभागी हुनेछन् । सुनुवाइको क्रममा अदालती प्रकृयाअनुसार बहस हुने र इजलासले त्यसैका आधारमा निर्णय दिनेछ ।
इजलासमा आयुक्तहरु इश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शम्सेर जबरा रहेका छन् । जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगका निवेदन दिएको थियो ।
ऐनअनुसार दुबै पक्षलाई बोलाएर सहमति जुटाउने प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया