शुक्रबार, वैशाख १४, २०८१

यस्तो देखियो युद्ध संग्रहालय, राष्ट्रपतिले गरिन् उद्घाटन (फाेटाे फिचर)

नेपालखोज २०७८ साउन १३ गते ११:२७

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छन् । नेपाली सेनाले कमलामाई नगरपालिकासँगको सहकार्यमा युद्ध संग्रहालय निर्माण गरेको हो । ०७६ कात्तिक २४ गते संग्रहालयको शिलान्यास गरिएको थियो ।

६ करोड ५० लाख रुपैयाँको लागत र करिब डेढ वर्षको अवधिमा निर्माण सम्पन्न भएको संग्रहालय ६ हजार २७५ स्क्वायर फिटमा फैलिएको छ । संग्रहालयमा वीर योद्धाको परिचय, तत्कालीन समयमा प्रयोग भएका हातहतियारलगायत राखिएका छन् ।

नेपाली सेनाले करिब सात करोड रूपैयाँ लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागनरसिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।

सङ्ग्रहालयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरुले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्ताबेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

नेपाल एकीकरणका क्रममा विसं १८२४ असोजमा सिन्धुलीगढीको युद्धमा काठमाडाैं कब्जा गर्न इस्टइन्डिया कम्पनीका कप्तान किनलोकको नेतृत्वमा आएको आधुनिक हतियारले सुसज्जित अङ्ग्रेज सेनालाई बंसु गुरुङको नेतृत्वमा गोर्खाली सेनाले हराएको इतिहास छ।

तस्बिर : रासस

प्रतिक्रिया