शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रियसभा सदस्यद्वारा समसामयिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

नेपालखोज २०७८ साउन १३ गते १४:३८

काठमाडाैं । राष्ट्रिय सभाको बुधबारको बैठकमा राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्य माया प्रसाद शर्माले रकुम पश्चिमको त्रिवेणीमा २५ वर्षीया मनकला खत्रीको अज्ञात समुहले वलात्कार पछि हत्या गरेकोले दोषीलाई कारबाही गर्न माग गरे ।

राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वर्तमान सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले धेरै विद्यालयहरु लाभान्वित भएको भएपनि वर्तमान सरकारले सो कार्यक्रम अन्र्तगतको रकम रोक्न लागेको भन्दै त्यसो नगर्न सचेत गराए ।

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले देशमा धेरै घरेलु श्रमिक रहेको र उनीहरुलाई कोभिड १९ को जोखिम रहेको भन्दै वडा तहमा घरेलु श्रमिकको पञ्जिकरण गरी परिचय पत्र दिन र कोभिड-१९ विरुद्धको खोप दिन अनुरोध गरे ।

राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले निर्मला हत्याकाण्डका दोषी पत्ता किन लागेनन् भनी प्रश्न गरे । उनले यो घटना रहस्यमय भएको भन्दै दोषीलाई छानविन गरी जन्मकैदको सजाय हुनुपर्ने माग गरे ।

राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरे । जनगुनासो र राष्ट्रियताको संरक्षण हुनेगरी विधेयक पास गराउनुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया