जोन्सनको खोप कस्तो अवस्थामा लगाउन हुने र नहुने ? यस्तो छ सरकारको मार्गदर्शन !

काठमाडौं । सरकारले कोभिड-१९ विरुद्धको जोन्सन एन्ड जोन्सन खोप कस्तो अवस्थामा लगाउन हुने र कस्तो अवस्थामा लगाउन नहुने भन्नेबारे मार्ग दर्शन सार्वजनिक गरको छ ।
कोरोना भाइरसविरुद्धको अमेरिकी कम्पनीले तयार पारेको जोन्सन खोपको प्रभावकारिता र असरका बारेमा सामाजिक सञ्जालसहित सञ्चारमाध्यममा विभिन्न प्रश्नहरु उठ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार यस सम्बन्धी मार्ग दर्शन नै सार्वजनिक गरेको छ । अमेरिकाले हालै उपलब्ध गराएको जोन्सन खोपको प्रभावकारिताका बारेमा अनेकन हल्ला चल्दा यो खोप न्यूनले लगाएका थिए ।
जोन्सनको खोप कस्तो अवस्थामा लगाउने ?
–१८ वर्षमाथिका सबै उमेर समूह
–स्तनपान गराइरहेका महिला
–३५ वर्ष उमेर वा सोभन्दा माथिका गर्भवती महिला
–अत्यधिक तौल भएका महिला गर्भवती भएमा
–गर्भावस्थाका जटिलताहरु भएका अवस्थामा जस्तै प्रि इक्लामसिया, गर्भावस्थामा देखिने मधुमेह
मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग भएका गर्भवती महिलाहरु
–कोभिड–१९ को संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरु जस्तै स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिने व्यक्ति
कस्तो बेलामा खोप नलगाउने ?
–पहिला अन्य कुनै पनि कारणले गम्भीर प्रकारको प्रतिक्रिया (सिरियस एलर्जीक रियाक्सन) वा एनाफाइलेक्सि भएका व्यक्ति ।
–यो खोपको कुनै पनि तत्व जस्तै साइट्रिक एसिड मोनोहाइड्रेट, ट्रिसोडिएम साइट्रेट डिहाइड्रेट, इथानोल, सोडिएम क्लोराइड, सोडिएम हाइड्रोक्साइड, हाइड्रोक्लोरिक एसिड आदिबाट गम्भीर प्रकारको प्रतिक्रिया भएका व्यक्ति ।
–१८ वर्षभन्दा कम उमेरका व्यक्ति
–पहिला अन्य कुनै पनि कोभिड–१९ को खोप लगाइसकेका व्यक्ति ।
–कुनै पनि कारणले हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्ति तर यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन मिल्छ ।
–प्यासिभ एन्टिबडी थेरापी जस्तै मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन । तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ ।
–हाल कोभिड–१९ संक्रमण भएको व्यक्ति। तर संक्रमणमुक्त भएको ३० दिनपछि भने यो खोप लगाउन मिल्छ ।
– रगत बग्ने समस्या भएका व्यक्ति वा रगत पातलो गराउने औषधी लिई राख्नु भएका व्यक्तिहरुलाई विशेष निगरानी वा परामर्शको जरुरी हुन्छ ।




प्रतिक्रिया