बिहीबार, चैत १५, २०८०

संसारभर करिब २० करोड मानिस संक्रमित

नेपालखोज २०७८ साउन १३ गते १५:०८

काठमाडौं । विश्वभरमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या बढेर १९ करोड ४६ लाख नाघेको छ । ४१ लाख ६७ हजारजनाको मृत्यु भइसकेको छ । अमेरिकास्थित जन हकिन्सन युनिभर्सिटीको विज्ञान एवं इन्जिनियरिङ केन्द्र (सीएसएसई) को नयाँ तथ्यांकअनुसार संसारका १९२ देश तथा क्षेत्रमा कोरोना संक्रमितको संख्या १९ करोड ४६ लाख ७६ हजार ८ सय पुगेको छ भने ४१ लाख ६७ हजार ७९ मानिसले यही महमारीका कारण ज्यान गुमाइसकेका छन् ।

विश्वको महाशक्ति अमेरिकामा फेरि एकपटक कोरोना संक्रमणले उत्पात मच्चाउन थालेको छ । अमेरिकामा संक्रमितको संख्या साढे तीन करोडको हाराहारीमा पुगेको छ जबकि त्यहाँ ६ लाख १० हजार मानिसले कोरोनाकै कारण ज्यान गुमाएका छन् । भारत कोरोना संक्रमितको तथ्यांकमा दोस्रो अनि मृतकको तथ्यांकमा तेस्रो स्थानमा छ ।

भारतमा अहिले ३ करोड १५ लाख जति कोरोना संक्रमित छन् । कोरोनाका कारण भारतमा अहिलेसम्म चार लाख २१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । भारतमा कोरोनाका कारण हुने मृत्युदर १ दशमलव ३४ प्रतिशत छ । ब्राजिल संक्रमितको संख्याका आधारमा तेस्रो स्थानमा छ । ब्राजिलमा पनि कोरोना संक्रमणका घटनामा फेरि वृद्धि देखिएको छ । एक करोड ९७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेको ब्राजिलमा पाँच लाख ५० हजारले यही कारणले ज्यान गुमाइसकेका छन् । ब्राजिल कोरोनाबाट सबैभन्दा बढी नागरिक गुमाउने मुलुकहरुको सूचीको दोस्रो स्थानमा छ ।

संक्रमणको हिसाबले चौथो स्थानमा रहेको रूसमा कोरोना संक्रमितको संख्या ६० लाख ७१ हजारभन्दा बढी छ । रुसमा कोरोना संक्रमणका कारण एक लाख ५२ हजारभन्दा बढीले प्राण त्यागिसकेका छन् । फ्रान्समा कोरोना भाइरसबाट प्रभावितहरुको संख्या ६० लाख ६० हजारभन्दा बढी पुगिसकेको छ । फ्रान्समा अहिलेसम्म एक लाख ११ हजारभन्दा बढी कोरोना संक्रमणकै कारण मृत्युको सिकार भएका छन् । यता बेलायतमा कोरोना संक्रमितको संख्या ५७ लाख ५० हजारजस्तो छ भने त्यहाँ एक लाख २९ हजार पाँच सय जतिले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया