जसपाले भन्यो – सरकारमा सहभागी हुन अझै केही समय लाग्छ

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ । पार्टीको बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको केन्द्रिय कार्यकारिणी समितिको बैठकले सैद्धान्तिक छलफल सुरु गर्दै सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सरकारमा सहभागी हुन अझैै केही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको बताए । उनले भने, “सरकारमा कहिले सामेल हुने ? कसरी सामेल हुने ? के–कस्ता विषयहरुलाई ध्यान दिने ? लगायतका विषयमा आजको बैठकमा सैद्धान्तिक छलफल गरेका छौं । सरकारमा सामेल हुनेबारे सकारात्मक दृष्टिकोणहरु आएका छन । तर यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ ।”
बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ । त्यसैगरी पार्टी एकताका लागि नेकपा लोकतान्त्रिक पार्टीको शिवलाल थापा समूह, नेकपा एकीकृत माक्र्सवादी समूहको अमृत पुरी समूह र लिम्वुवान राष्ट्रिय मञ्चका मछिन्द्र बेगा नेतृत्वको समूहसँग गरिएको सहमति पनि बैठकले अनुमोदन गरेको प्रवक्ता खतिवडाले बताए । जसपाले थापालाई पार्टीको केन्द्रिय कार्यकारिणी समितिमा, पुरीलाई राजनीतिक समितिमा र बेगालाई केन्द्रिय कार्य समितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।
जसपाको केन्द्रिय कार्यकारिणी समितिको बैठक बिहीबार पुनः तुलसीलाल स्मृति भवनमा बोलाइएको छ । बैठकमा सरकारमा सहभागी हुने विषयमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

प्रतिक्रिया