सोमबार, फागुन १४, २०८०

क्रियाशील सदस्यता विवाद मिलाउन दिइएको चौबीस घण्टाको समय सकिँदै

नेपालखोज २०७८ साउन १४ गते ७:५१

काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलाउन दिएको २४ घण्टाको समयवधि आज दिउँसो सकिँदै छ । हिजोको बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितीलाई विवाद सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।

सो समय सकिने बेला आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारी बोलाइएको छ । सो बैठकले त्यससम्बन्धमा आवश्यक निर्णय गर्नेछ । हालसम्म कांग्रेसमा १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएकाले पूरै बाँकी रहेको र पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी रहेको समितिले जनाएको छ ।

समितिले बुधबार मात्रै पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरणसम्बन्धी प्रतिवेदन बुझाएको थियो । विसं २०७७ फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४ औँ महाधिवेशनको प्रयोजनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो ।

पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने कार्यतालिका तय गरेको छ ।

प्रतिक्रिया