विवेकशील साझामा जुहारी : रवीन्द्र मिश्रलाई मिलन पाण्डेको अर्को जवाफ !

नेपालखोज २०७८ साउन १४ गते ८:४०

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रविन्द्र मिश्रले बाहिर ल्याएको संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमत संग्रहको प्रस्तावबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । साथै उनले पार्टीलाई सफल बनाउन स्पष्ट नीति तथा कार्यक्रमहरू सहितको दस्ताबेज ल्याउने र केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्ने बताएका छन् ।

‘मलाई धेरै साथीहरूले अब पार्टी कसरी अगाडि बढ्छ भनेर सोध्दै हुनुहुन्छ । पार्टीमा, अब, यो पार्टीको स्थापना कालदेखिको मर्म र आशालाई समेटेर पार्टीलाई कसरी सफल बनाउने र प्रोग्रेसिभ बनाउने स्पष्ट नीति र कार्यक्रमहरू सहितको दस्ताबेज आउने छ’ पाण्डेले सामाजिक सन्जालमा लेखेका छन् ।

‘अब केन्द्रीय कमिटीले महाधिवेशनको घोषणा गर्छ ।’ उनले लेखेका छन्, ‘ढुक्क हुनुहोस्, पार्टीले अनि देशले प्रतिगमन स्विकार्ने छैन । फेरि देशलाई द्वन्द्वमा धकेल्ने नीति लिने छैन । समाजलाई विभाजित गर्ने छैन । देशलाई फेरि व्यवस्था परिवर्तनको नाउँमा २०–२५ वर्ष पछाडि धकेल्ने छैन ।’ उनी थप लेख्छन्, ‘त्यसैले, कमल थापाजीहरू, महेश बस्नेतजीहरू र गोकुल बास्कोटाजीहरू खुसी हुन जरुरी छैन ।’

विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले संघीयता खारेज गर्न, धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने प्रस्तावमा राप्रपा अध्यक्ष कमल थापा, एमाले नेताहरु महेश बस्नेत र गोकुल बास्कोटाले समर्थन जनाएका थिए ।

प्रतिक्रिया