‘जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन हुँदैन’

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । मन्त्रालयमा शुक्रबार भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे।
मन्त्री शर्माले कोभिडविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकामा आभार प्रकट गरे ।
उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाएकोले त्यस कार्यमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे । मन्त्री शर्माले चिनिया सहयोगमा नेपालमा संचालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता व्यक्त गरे ।
उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत्, विमानस्थललगायत निर्माणाधीन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए ।
भेटका क्रममा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरिन् ।
चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता र यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारीविरुद्धको लडाइँमा आफूहरु नेपालको साथमा रहँदै आएको बताइन् ।
चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् ।
यस्तै भूकम्पपछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ परियोजनाको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौतले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने आश्वासन दिइन् ।

प्रतिक्रिया