सरकारले भन्यो- चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइन्छ

नेपालखोज २०७८ साउन १५ गते २१:१८

काठमाडौं । सरकारले आउँदो चैत मसान्तसम्म सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइ सक्ने दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

सरकारले यसअघि प्राप्त र प्राप्त हुने क्रममा रहेका खोपको जानकारी गराउँदै आउँदो चैत मसान्तभित्रमा सबै खोप योग्य नागरिकलाई खोप लगाइने जानकारी गराएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिदका लागि सम्झौता अगाडि बढाइएको पनि उल्लेख गरिएको छ ।

कोभ्याक्स सुविधामार्फत चीनले अनुदानमा उपलब्ध गराउने १६ लाख डोज खोप असोज मसान्तभित्र उपलब्ध हुने र भारतसँग खरिद सम्झौता भएको कोभिशिल्डको १० लाख डोज खोप पनि असोज मसान्तभित्र नै प्राप्त हुने विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, खोप आयात गर्न इच्छुक निजि क्षेत्रलाई विश्व स्वास्थ्य संगठन र नेपालको नियामक निकाय औषधि व्यवस्था विभागबाट आकस्मिक प्रयोगको अनुमति प्राप्त कुनै पनि खोपहरु उत्पादन मूल्य र आयत खर्चमा अधिकतम १० प्रतिशतसम्म मुनाफा लिएर सरकारले तोकेको प्राथमिकताको समूहलाई लगाउन मिल्ने गरि स्वीकृति दिइसकेको पनि जानकारी गराइएको छ ।

प्रतिक्रिया