नेता निधि भन्छन्- सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरिरहेकाे छ

नेपालखोज २०७८ साउन १६ गते १३:३६
फाइल तस्बिर

काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन सम्पूर्ण शक्ति परिचालन गरेको दाबी गरेका छन् ।

उपसभापति निधिले जहाँबाट ल्याएर भएपनि आम जनतालाई कोरोना खोपको व्यवस्था गर्न सरकार प्रतिवद्ध भएर लागि परेको बताएका हुन् ।

शनिबार काठमाडाैंको त्रिपुरेश्वरमा स्थापना गरिएको ‘नवरत्न आयुर हेल्थ केयर एन्ड रिसर्च सेन्टर’को उद्घाटन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कोरोना विरुद्धको खोपलाई बढि प्राथमिकता दिएको पनि स्मरण गराए ।

उनले भने, ‘खोपलाई सरकारले सबैभन्दा बढि प्राथमिकता दिएको छ । अहिले खोपको व्यवस्थापनमा सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सरकारले जहाँबाट ल्याएर भएपनि नेपाली जनतालाई खोप उपलब्ध गराउँछौं भनिरहेको छ ।’ उपसभापति निधिले कोरोनाको तेस्रो लहर आउन नदिन पनि सरकार आवश्यक तयारीमा लागि परेको बताए ।

उपसभापति निधिले कोरोनाबाट मुक्ति पाउने उपायको खोजी गर्न आयुर्वेद चिकित्सकसँग आग्रह पनि गरे । उनले जनताको जीवन रक्षा गर्ने कुरा पहिलो प्राथमिकतामा रहेकाले यसमा आयुर्वेद चिकित्सकहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया