बुधबार, वैशाख १२, २०८१

उग्र हुँदै कश्मीर विवाद, यस्तो छ नालिबेली !

नेपालखोज २०७८ साउन १७ गते ६:३२

नयाँदिल्ली । भारतको जम्मु-कश्मीर विवादले झन् उग्ररुप लिँदै गएको छ । जम्मु-कश्मीरको भूभाग आफ्नो भएको दाबी गर्दै भारतीय सेना र पाकिस्तानको सशस्त्र समूहबीच पटकपटक झडप हुँदा अहिलेसम्म हजारौंको ज्यान गइसकेको छ । हिजो (शनिबार) मात्रै कश्मिरको पुलवामा सेक्टरमा भारतीय सुरक्षाबल र पाकिस्तानी विद्रोही समूहबीच दोहोरो गोली हानाहान भएको छ ।

भिडन्तका क्रममा दुई विद्रोही मारिएका छन् । नामिबियान, मारसार वन क्षेत्र र दाचीगाम क्षेत्रमा सशस्त्र समूह बसेको गोप्य सूचना पाएपछि भारतीय सेनाले घेराबन्दी गरेको थियो । घेराबन्दी गर्दै भारतीय सेनाले सर्च अपरेसन चलाएको सुइँको पाएपछि सशस्त्र विद्रोही समूहले पनि गोली चलाउन सुरु गरेको थियो । केही घण्टासम्म दोहोरो गोली हानहान भयो ।

सुरक्षाकर्मीको गोली लागेर दुई विद्रोहीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

कश्मीरको पुलवामा क्षेत्रमा विद्रोही सेना लुकेर बसेको थाहा भएपछि भारतीय सेनाले स्थानीय प्रहरीसँग मिलेर सर्च अपरेसन सुरु गरेको थियो । मुठभेडका क्रममा कम्तिमा १२ भारतीय सेना घाइते भएको अनुमान गरिएको छ । विद्रोही पक्षका पनि २० बढी घाइते भएको हुनसक्ने जनाइएको छ ।

शनिबार बिहान जम्मु-कश्मीरमा भएको भिडन्त अरु जघन्य घटनाहरु हेर्दा सामान्य लाग्छ । योभन्दा अगाडि सयौंपटक भारतीय सेना र विद्रोही सेनाबीच भिडन्त भएको छ । भारतको एक प्रान्त कश्मीरको भूभाग स्वामित्वको दाबी गर्दै भारत र पाकिस्तानबीच १९४७ देखि उग्रविवाद र ठूलो युद्धसम्मका घटना भएका छन् ।

सन् १९४७ मा कश्मीरका तत्कालीन गर्भनर जनरल माउन्ट बेटनले जम्मु र कश्मीर भूभाग भारतमा विलयका लागि विलयपत्रमा हस्ताक्षर गरेका थिए । माउन्ट बेटनले जम्मु-कश्मीरको अधिकांश भूभाग भारतीय सरकारको भएको सहमति जनाउँदै १९४७, अक्टुबर २७ मा हस्ताक्षर गरेका हुन् । गर्भनरको विलयपत्रमा हस्ताक्षरसँगै पाकिस्तानको कब्जामा रहेका जम्मु र कश्मिरका केही भूभाग पनि भारतको अभिन्न अंग बनेका थिए । पाकिस्तान सरकारले भारतले जम्मु-कश्मीरको आफ्नो भूमि खोसेकाले फिर्ता गर्न माग गर्दै जम्मु-कश्मीरमै भूमिगत रुपमा सशस्त्र विद्रोह गर्दै आएको छ । यस क्रममा भारत र पाकिस्तानबीच तीन ठूला युद्ध र अन्य सयौं सशस्त्र झडपहरु भएका छन् ।

जम्मु-कश्मीरको लगभग ४५ प्रतिशत भू-भाग भारतको नियन्त्रणमा छ । जसमा जम्मु, कश्मीर घाँटी, लद्दाखको अधिकांश भाग र सियाचिन ग्लेसियर पर्छन् । यता लगभग ३५ प्रतिशत भूभाग पाकिस्तानको नियन्त्रणमा छ । जसमा स्वतन्त्र कश्मीर र गिलगित-बल्तिस्तान छन् । उता २० प्रतिशत भूभाग पनि चीनको नियन्त्रणमा छ । जसमा अक्साई चीन क्षेत्र, निर्जन ट्रान्स काराकोरम ट्रैक्ट र डेमचोक सेक्टर छन् । भारत स्वतन्त्र भएदेखि जम्मु र लद्दाखवासी भारतसँग खुसी छन् ।

तर अधिकांश कश्मीरवासी खुसी छैनन् । भारत स्वतन्त्र हुनुभन्दा अगाडि कश्मीर, जम्मु र लद्दाख एकजना राजाको अधिनमा थियो । भारत स्वतन्त्र भएपछि भारतीय राजनेताले तीनै राज्य भारतको अधिनमा भएको घोषणा गरेदेखि कश्मीर विवादले उग्ररुप लिँदै आएको छ ।

प्रतिक्रिया