मोटरसाइकल चोरीमा संलग्न तीनजना पक्राउ

नेपालखोज २०७८ साउन १७ गते १७:५७

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

उपत्यकाको विभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरी चोरीमा संलग्न गिरोहलाई विशेष निगरानी गर्न, सुचना संकलन गर्न र त्यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न बिशेष अभियान संचालन भैरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए ।

चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सुचना संकलन र निगरानी पश्चात हिजो साँझ पल्सर मोटरसाईकल सहित भक्तपुरबाट तीनै जनालाई पक्राउ गर्न सफल भएको र अन्य संलग्नहरुको समेत सुचना संकलन गर्ने र खोजतलास गर्ने कार्य भईरहेको उनले बताए ।

भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ सालमा हराएको उक्त मोटरसाईकल सहित रामेछाप घर भई भक्तपुर बस्ने बर्ष १९ को दिपेन्द्र भुजेल र ताप्लेजुङ्गका १९ बर्षे बिशेष लिम्बु पक्राउ परेका हुन ।

वास्तविक नं बा ९७ प १३०५ भएको कालो, रातो रङको १५० सी.सीको उक्त पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि बा ९५ प ४१६८ भएको अवस्थामा ट्राफिक टोलीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।

ट्राफिक प्रहरीले थप अनुसन्धान गरी पशुपति क्षेत्रबाट हराएको किर्तिपुर बस्ने प्रशान्त रावलको बा९६प ८८३६ नंको कालो एनएस पल्सरको बास्तबिक नम्बर परिबर्तन गरी बा९१प ८६७२ नम्बर प्रयोग गरेको अवस्थामा धनुषा मिथिलाका २१ बर्षिय विकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।

पक्राउ परेको मोटरसाईकल सहित तिनै जनालाई थप अनुसन्धान एव कानूनी कारबाहीको लागि प्रहरी वृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ ।

गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया