शुक्रबार, चैत १६, २०८०

बर्सेनि बढ्दै सरुवा रोग, सरकारको काम फितलो !

मीना साउँद २०७८ साउन १८ गते १०:४९

गाउँघरमा खानेपानी र सरसफाइमा विशेष ध्यान नपुर्‍याउँदा पनि सरुवा रोगका बिरामी बढ्ने गरेका छन् ।

काठमाडौं । मौसम परिवर्तनसँगै यो समयमा विभिन्नखाले सरुवा रोगका बिरामी बढ्ने गरेका छन् । वर्षायाममा पानीका कारण मानिसमा विभिन्न रोग लाग्ने सम्भावना बढी हुन्छ । अझ पिउने पानीको अभाव र सरसफाइको कमीले यस्ता रोगको संक्रमण बढ्ने गरेका हुन् ।

विशेषगरी गाउँघरमा खानेपानी र सरसफाइमा विशेष ध्यान नपुर्‍याउँदा पनि सरुवा रोगका बिरामी बढ्ने गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सरुवा रोगको सर्ने तरिकाहरू फरक भए पनि एउटा जीव वा एउटा मानिसबाट अर्को मानिसमा सहजै सर्न सक्ने रोगलाई नै सरुवा रोग भनिन्छ । सरुवा रोग धेरै प्रकारका हुन्छन् । जस्तो- हावाबाट सर्ने सरुवा रोग, रगतबाट सर्ने सरुवा रोग, खानपानबाट सर्ने सरुवा रोग हुने गर्दछ । सरुवा रोगमा पनि नेपालमा झाडापखालाबाट सबैभन्दा बढी प्रभावित हुने गरेका छन् ।

त्यस्तै, टाइफाइड, डेंगु, स्क्रब टाइफस, हेपाटाइटिस (जन्डिस), हैजा, मलेरिया, फ्लुले पनि बर्सेनि धेरैलाई प्रभावित गर्ने गरेको छ । डा. पुनका अनुसार सरुवा रोगलाई निकै घातक मान्न सकिन्छ । सरुवा रोग सामान्य लक्षणसमेत नदेखिनेदेखि लिएर निकै नै घातक गराउनेसम्मका छन् । डा. पुन भन्छन्, ‘हामी कहाँ झाडापखाला, पेट दुख्ने रोगलाई सामान्य रूपमा लिने प्रवृत्ति छ । तर यी रोगहरूको समयमै उपचार भएनन् भने जटिलता हुँदै ज्यानसमेत जान सक्ने हुन्छ ।’ जस्तो कि झाडापखाला भयो भने शरिरमा जलवियोजन भएमा मिर्गौला फेल (काम नलाग्ने) हुन्छ । मिर्गौला शरीरको मुख्य अंग हो । मिर्गौला बिग्रेपछि शरीरका अन्य महत्त्वपूर्ण अंगहरू प्रत्यक्ष-अप्रत्यक्ष रुपमा प्रभावित भएर मानिसको मृत्युसमेत हुन्छ । उमेरका हिसाबले सबै उमेर समूहमा सरुवा रोगको प्रभाव देखिए पनि नेपालको सन्दर्भमा बालबालिका अलि बढी प्रभावित भएको देखिन्छ ।

सरुवा रोगबाट कसरी बच्ने ?
चिकित्सा विज्ञानमा सरुवा रोग भन्नाले रोगी व्यक्तिबाट स्वास्थ व्यक्तिमा सर्ने रोगहरू भन्ने बुझाउँछ । दूषित हावा-पानी, दिसा-पिसाब, सर-सफाइको कमी र अन्य कारणहरूले सरुवा रोग सार्न मद्दत गर्छन् । चिकित्सकका अनुसार खासगरी झाडापखाला, जन्डिस, टाइफाइड र हेपाटाइटिस ‘ए’ जस्ता सरुवा रोगबाट बच्न सफा वा उमालेको पानीको प्रयोग गर्नु नै सबैभन्दा उत्तम उपाय हो ।

त्यस्तै अर्को प्रमुख कारण हो, सरसफाइ । सरसफाइमा ध्यान पुर्‍याउन सके मात्रै पनि सरुवा रोग हुनबाट ७० देखि ८० प्रतिशत बच्न सकिन्छ । त्यस्तै, सरुवा रोग हुनबाट बच्न खाना खानुअघि र खाइसकेपछि साबुनपानीले हात धुने, बासी खानेकुरा र सडकमा बेच्न राखेका खाने कुराहरूलाई खान छोड्यौं भने पनि सरुवा रोग हुनबाट धेरैहदसम्म बच्न सकिन्छ ।

त्यस्तै, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार सरुवा रोग जस्तो शरीरको तरल पदार्थबाट सर्ने, पानीबाट सर्ने, लामखुट्टेको टोकाइबाट सर्ने यो जुनजुनबाट सर्छ त्यो त्यो नसर्नका लागि हामीले विभिन्न उपायहरू अपनाउनुपर्ने हुन्छ । जस्तो- टाइफाइड, झाडापखाला अनि हेपाटाइटिसको कुरा गर्ने हो भने खानपान राम्रो हुनु पर्‍यो । त्यस्तै शरीरको तरल पदार्थबाट सर्ने जस्तो- यौनसम्पर्क, रगतबाट सर्ने रोग छ भने हामीले त्यहीअनुसार नै सुरक्षाका उपायहरू अपनाउनुपर्छ । डा. पुन भन्छन्, ‘जुन रोग जसरी सर्छ त्यसलाई मात्रै हामीले ध्यान दिन सक्यौं भने रोग लाग्नबाट बच्न सकिन्छ ।’

सरुवा रोग बर्सेनि बढ्दो, सरकारको काम भने फितलो
नेपालमा सरुवा रोगीको संख्या बर्सेनि बढ्दै गएको छ । सरुवा रोगकै कारण बर्सेनि धेरैले अकालमै ज्यान गुमाउने गरेका छन्, तर यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको गुनासो आउने गरेको छ । सरुवा रोगसम्बन्धी जनचेतनाको अभाव र सरकारी पूर्वतयारी नहुँदा संक्रमितहरूको संख्या बढेको जनगुनासो छ ।

दुई दशकयता मात्रै नेपालमा डेंगु, इन्फ्लुएन्जा, स्क्रब टाइफस, झाडापखालालगायत अन्य सरुवा रोगको प्रकोप देखापरिरहेको छ । नेपालमा हुने बिरामीमध्ये ४० देखि ५० प्रतिशत सरुवा रोगको कारणले हुने गरेको छ । अझ विशेषतः दुर्गम हिमाली क्षेत्र, कर्णाली र भित्री मधेसमा पहिचान नभएको रोगको संक्रमण फैलिएर मानिसको मृत्यु भएको समाचार बेलाबखत हामी सुन्दै आएका छौं । यसले पनि नेपालको ग्रामीण क्षेत्रको स्वास्थ्य संरचना/संस्था अत्यन्तै नाजुक, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य शिक्षासम्बन्धी चेतानाको कमी छ भन्ने कुरा प्रस्ट पर्छ । दक्ष जनशक्ति र स्रोत साधनको अभावका कारण ग्रामीण क्षेत्रमा कतिपय रोगको निदान, पहिचान तथा उपचार हुन सकिरहेको छैन ।

सरुवा रोग नेपालमा मात्रै होइन पछिल्लो समय विश्वमै घातक बन्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को एक तथ्यांकअनुसार विश्वभर मृत्यु हुने प्रमुख १० कारणमध्ये तीनवटा सरुवा रोगको कारण रहेको बताइएको छ । जसमा सबैभन्दा बढी श्वासप्रश्वाससम्बन्धीको सरुवा रोग, झाडापखाला र क्षयरोग हुन् । अझै नयाँ-नयाँ सरुवा रोग विशेषगरी भाइरससँग सम्बन्धित रोगले मानव जातिलाई नै दुःख दिइरहेका छन् ।

प्रतिक्रिया