शनिबार, वैशाख १५, २०८१

दोहा-सम्झौता तालिबानअनुकूल, विमानस्थलमा आक्रमण हुँदा स्थिति तनावपूर्ण

नेपालखोज २०७८ साउन १८ गते ९:२१

काठमाडौं । अफगानिस्तानको आन्तरिक युद्ध अझ आक्रमण हुँदै गएको छ । वर्षौंदेखि तालिबानी विद्रोही समूहले सरकारी सेनाविरुद्ध निशाना लगाउँदा दोहोरो भिडन्तको क्रममा हजारौं नागरिक मारिएका छन् । हिजो (आइतबार) अफगानिस्तानको कान्दहार विमानस्थलमा तालिबानी विद्रोही सेनाले रकेट आक्रमण गर्‍यो । रकेट आक्रमणपछि आसपासको क्षेत्र अहिले तनावपूर्ण छ । सर्वसाधारण त्रासमा छन् । गोलाबारी घटनादेखि सवै उडानहरु रद्द गरिएका छन् ।

पश्चिमी अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघको कार्यालयमा पनि शुक्रबार तालिबानी समूहले गोली चलाएको थियो । गोली काण्डमा राष्ट्रसंघको कार्यालयमा कार्यरत एक सुरक्षागार्डको मृत्यु भयो । एक दर्जन बढी सेना तथा कर्मचारी घाइते भएका छन् ।

कान्दहार क्षेत्रमा तालिबान र अफगानी सेनाबीच बेलाबेला ठूलो लडाइँ हुँदा नागरिक असुरक्षित भएको संयुक्त राष्ट्रसंघको सचिवालयले दाबी गरेको छ । संयुक्त राष्ट्रसंघको सचिवालयमा बारम्बार हुने आक्रमणको संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटरेसले कडा निन्दा गरेका छन् । तालिबानी समूहको आक्रमणप्रति अमेरिकाले पनि कडा निन्दा गरेको छ ।

अफगानिस्तानमा अहिले पनि बारम्बारका आन्तरिक युद्ध हुनुलाई अमेरिका र तालिवानबीचको दोहा सम्झौतालाई लिने गरिएको छ । अफगानिस्तान आजभोलि जुन संकटबाट गुज्रिरहेको छ, त्यो अमेरिका र तालिवानबीचको दोहा सम्झौताको असफलताको नतिजाका रुपमा देखिएको अन्तर्राष्ट्रिय जगत्‌ले लिने गरेको छ ।

दोहा सम्झौताअनुसार अफगानिस्तानबाट अमेरिकी फौज निस्कनासाथ हिंसा मच्चिइरहेको छ । अमेरिका र तालिबानबीचको सम्झौतामा तालिबानले अमेरिकी सैनिकलाई निसाना नबनाउने उल्लेख छ । यस्तै वासिंटनलाई असर गर्ने कुनै काम नगर्ने भनेर पनि सम्झौतामा उल्लेख छ । फेरि अमेरिकी सेना अफगानिस्तान आओस् भनेर तालिबानले नचाहेकाले तालिबान र अमेरिकाबीचको सम्झौता तालिबानको अनुकूल हुँदै आएको छ ।

अफगानिस्तानका करिब १५० जिल्ला अहिले तालिबानको कब्जामा छन् । आफ्नो प्रभाव थप बढाउने उद्देश्य राख्दै उसले कान्दहार सहरमा आक्रमण जारी राखेको छ । यता वर्षौंदेखि तालिवानसँग अफगानी सेनाले लडाइँ गरिरहेको छ । नाटो फौजबाट प्रशिक्षित अफगानी सैनिकहरू आफ्ना दुस्मनलाई हवाई हमलाबाट समाप्त गर्न माहिर छन् । झन्डै ४० हजारदेखि ५० हजारको विशेष कमान्डो अफगानी सेनामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । तालिबानी सेनालाई अफगानी कमान्डोलाई परास्त गर्न भने सजिलो नहुने अनुमान गरिएको छ ।
-भारतखबर

प्रतिक्रिया