बिहीबार, वैशाख १३, २०८१

गायक कर्ण दासको धर्म अनुभव !

नेपालखोज २०७८ साउन १८ गते १२:२८

नेपालका लोकप्रिय गायक हुन्- कर्ण दास । उनका सुमधुर गीतका लाखौं प्रशंसक छन् । कर्ण दासका थुप्रै गीति एल्बममा सयौं गीत संकलित छन् । भारतको प्रवाशी जीवन त्यागेर अहिले उनी पोखरामा रमाइरहेका छन् ।

कर्ण दासले सोमबार फेसबुकमा एक स्टाटस लेख्दै एउटा सानो तर महत्त्वपूर्ण अनुभव सेयर गरेका छन । कर्ण दासको अनुभव उनकै शब्दमा :

तितो सत्य (मेरो ३० वर्ष )
दोष लगाएको होइन, दोष देखाएको हुँ ।
म कर्ण दास,
१०/१२ वर्षको उमेरमा बाबाले दिल्लीमा लगेर पढाउनुभयो । चर्च जाने गर्नुहुँदो रैछ, मलाई पनि लानुहुन्थ्यो प्रत्येक आइतबार, त्यही पिताको आश्रयमा जीन्दगीको सूर्यलाई देखें अनि मेरो महसुसको जिन्दगी सुरु भयो ।

नेपाल आएँ आमाले बाइबलीय शिक्षामा हुर्काउनुभयो । जिन्दगीले उत्साह दियो । साइकल लिएर हिँड्ने मेरा सपना कहिले पूरा होलान् भनेर कल्पनामा बित्थ्यो दिनहरु । अनि पास्टरहरु, साथीहरूले चलाएको जस्तै एटलस साइकल/हिरो रेन्जर साइकलका लागि ईश्वरसँग प्रार्थनामा राख्थे, गियरवाला साइकल त मेरो सपनामा पनि आउँथेन किनकि त्यो साइकल त भाग्यमा नै छैन भनेर ढुक्क थियो मेरो मन ।

अग्रज पास्टरहरु गुरुजनहरुको जीवन, बोली वचन अनि प्रवचनहरुमा यति मोहित हुन्थे कि यस्तो लाग्थ्यो येशुको आत्माको सुवास यिनीहरुमा आएछ । गुरुजनहरुको प्रवचनमा संसाररहितको जीवन, संसारको धन केही होइन स्वर्गको धन खोज्नु असल हो, आफ्नो चाहनालाई येशुको क्रुसको फेदीमा ल्याऊ भन्नेजस्ता प्रवचनले हामी युवाहरु मख्ख हुन्थेऊ। मलगायत, रामे, मीने, हर्के, श्यामे, फूलकुमारी, सुन्तलीजस्ता हजारौं कलिला युवा आकांक्षारहितको जीवन जिउने अभियानमा लागेऊ ।

संगीतले मेरो कथा मोडियो । ईश्वरको कृपा, साथीहरूको साथ, मेरो मिहिनेत र समयको उपलब्धिले अमेरिकासम्म पुगें दु:ख गरें अनि फेरि नेपाल आएँ ।

आज ३० वर्षपछि नियालेर हेर्दा सबै साथीहरू रामे, मीने, हर्के, तारे, सुन्तली, फूलकुमारीहरु त्यही साइकलमै छन् उहीँ झोला, उस्ता-उस्ता पहिरन, जीवनमा उहीँ भागदौड तर ती पास्टरहरु गुरुजनहरु जसले संसारको मोह, संसारको धन केही होइन, पाप-पुण्यको व्याख्या गर्नेहरु, स्वर्गको धनको कुरा गर्नेहरु जसले साइकल चढ्थे आज पजेरो, टोयटा, मर्सिडिज चढ्छन् । कसैसँग त निजी हेलिकोप्टर किन्न सक्ने खुबी छ, विभिन्न सहरमा उनीहरुका घरहरु छन्, जमिनहरु बटुलेका छन्, पैसाकै पछि भागम-भागमा छन्, भाडामा बस्नेहरु आज आलिसान बंगलोमा छन्, मन्त्रीहरुको जस्तो लाइफस्टाइल देख्छु । गजबको दिमाग धोइएको रहेछ ।

आज सम्झिन्छु,
सम्झिन्छु बाइबलमा लेखिएको पद (आयात) जो हामीलाई पढाइन्थ्यो।
JESUS SAYS- LEAVE YOUR DESIRE AND FOLLOW ME.
येशुले भन्नुभयो- तिम्रो आकांक्षालाई त्याग अनि मेरो पछि लाग ।

आज पनि गाउँछन्- येशुको पछि म हिँड्न लागें फर्कदिनँ-
आज पनि प्रवचनमा भन्छन् संसारमा मन न लगाऊ, स्वर्गको धनको खोजी गर, तर पास्टरहरुको दिमागमा डलरको पर्खाइमा मात्र छन् ।
धत बकलोल ।

मेरा लागि येशु मेरा मित्र हुन्, मेरो ठूलो दाजु हुन् । यो सम्बन्ध थियो, छ र रहिरहनेछ । येशुको कथामा उहाँको जीवन पवित्र, निर्दोष र निष्खोट थियो । आज त उनी मेरा गुरु हुन् यो नाता कसैले तोड्न सक्दैन ।

प्रतिक्रिया