बिहीबार, वैशाख १३, २०८१

‘हामीले दोस्रो लहर पार गरेकै छैनौं’

नेपालखोज २०७८ साउन १९ गते ९:४३

हामीले दोस्रो लहर पार गरेको भन्नका लागि त निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमणदर पनि कम हुँदै गएको हुनुपर्थ्यो । यहाँ संक्रमणदर कम होइन बढ्दै गएको छ ।

नेपालमा अहिले नै कोरोनाको तेस्रो लहर आएको भन्न सक्ने आवस्था छँदै-छैन र त्यो आकलन पनि गर्न सकिन्न । यसको पनि कारण छ । पहिलो कुरा त के भने हामी कोरोनाको दोस्रो लहर नै पार गरिसकेकै छैनौं । हामीले दोस्रो लहर पार गरेको भन्नका लागि त निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमणदर पनि कम हुँदै गएको भए दोस्रो लहर पार गरेको भन्न सकिन्थ्यो । तर, यहाँ त निषेधाज्ञा खुकुलो हुँदै जाँदा कोरोना संक्रमणदर पनि बढेको छ । यो त सर्वविदित छ । फेरि संक्रमणदर ह्वात्तै बढेको पनि होइन । कुनै नयाँ भेरियन्ट आएर बढेको पनि होइन । यहीँ भएको, लुकेको केसहरू फेरि संक्रमण देखिन थालेको हो । खासमा हामी दोस्रो लहरमै छौं । अझै दोस्रो लहर सकिएको छैन ।

अनि तेस्रो लहर आउँछ अझै भन्ने कुरा कसरी हेर्न पर्छ भने कि नयाँ भेरियन्ट आउनुपर्‍यो । किनभने भएका सबै मानिसमा एकैचोटि संक्रमण हुन थाल्नुपर्‍यो । जुन देखिएको छैन । यतिबेला खोप लगाउने कार्यक्रम तीव्र पारिएको छ । ३१/३२ लाख नागरिकले खोप लगाउन पाउने देखिन्छ । जति धेरैले खोप लगाउँदै जानुभयो त्यति धेरै संक्रमण कम हुँदै जाने हो । लहर भनेको आउला । संक्रमण बढ्ने क्रमलाई लहर भन्ने/नभन्ने कुरा आफ्नो ठाउँमा होला । बढ्ने र घट्ने क्रम त अझै केही समय चलिहरन्छ । तर, खोप लगाउने मानिस बढ्दै गए भने यो लहरहरूको खासै भ्याल्यू हुँदैन । केसहरू बढ्दै गएको छ, त्यस कारण अहिले तेस्रो लहरको हल्ला चलेको हो । अझै पनि त्यसरी व्यापक हिसाबले संक्रमण बढेको छैन ।

दैनिक २५ सय संक्रमित हुने गरेकामा अहिले तीन हजार भएको छ । अहिले केस बढ्दै जानुको कारण पनि मेरो विचारमा निषेधाज्ञा खुकुलो हुँदै जानु नै हो । निषेधाज्ञा खुकुलो हुनेबित्तिकै मानिसहरू बाहिर निस्किए । बाहिर निस्किसकेपछि सबैले मास्क लगाउँछ, दूरी कायम गर्छ भन्ने पनि छैन । बजारमा पनि मानिसको भिड हुन्छ । त्यसले गर्दा नै संक्रमण बढिरहेको छ । त्यही भएर हामीले यसलाई दोस्रो लहरको निरन्तरता भन्नुपर्छ र निषेधाज्ञा खुकुलो भएको हुँदा केस बढेको हो भनेर नै बुझ्नुपर्छ । तेस्रो लहर नै आएको हो भनेर भन्न मिल्दैन । किनभने, अहिले नयाँ भेरियन्टहरू पनि आएको होइन र पूर्ण रुपमा दोस्रो लहर सकिएको पनि होइन ।

संक्रमणदर बढ्दै जानुमा सबैभन्दा बढी गल्ती त राज्यकै छ । सरकार परिवर्तन भयो । मन्त्री परिवर्तन भए । यस्ता परिवर्तनले देशलाई फाइदा गर्दै गर्दैन । कोभिड संक्रमणको यस्तो जटिल परिस्थितिमा सरकार परिवर्तन गर्ने नै होइन । जुन नेतृत्वले चलाइरहेको थियो त्यसैलाई छोड्दिनुपर्थ्यो । त्यो हुन सकेन । त्यो नै हाम्रो दुर्भाग्य हो । सबैभन्दा ठूलो गल्ती नै त्यही भएको छ । सरकार अनि नेतृत्व परिवर्तन भएपछि हरेक निकायमा केही न केही परिवर्तन आउँछ, जसले गर्दा कामभन्दा बढी राजनीति हुन्छ । राजनीति हुनेबित्तिकै काम बिग्रिन्छ । त्यही भएको छ अहिले पनि । हरेक निकायमा काम कम राजनीति बढी भएको छ ।

जहाँसम्म जोन्सन एन्ड जोन्सन खोपको कुरा छ । खोप लगाउँदा अलिअलि नकारात्मक प्रभाव त भइहाल्छ । हरेक कुराको राम्रो-नराम्रो दुवै पक्ष हुन्छ । करोडौंले खोप लगाइसकेपछि केही न हुने तर नेपालमा मात्रै त्यसको नकारात्मक प्रभाव हुने भन्ने हुँदैन । यो बढी हल्लाखल्ला र मानसिक दबाब पनि हो । मेन्टल रुपमा पनि यस्तो हुन्छ । मान्छेलाई धेरै तर्साइदिएपछि नभएको कुरालाई पनि हो भन्छ । तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नै अप्रुभ गरिदिएको, अमेरिकामा चलिरहेको छ अहिले पनि । युरोपका कतिपय देशमा पनि चलाइरहेका छन् । खोप लगाउन त रोकेका छैनन् नि उनिहरूले । भनेपछि यस्तो राम्रो चलिरहेको खोपलाई पनि नकारात्मक रुपले त हेर्नु हुँदैन । होला, केहीकेहीमा नकारात्म असर देखियो होला । करोडौंमा सयजना बिरामी भए होलान तर, मान्छेको मृत्युको पुष्टि त भएको छैन । भए पनि करोडौंमा १०/१५ जनामा हुन सक्ने सम्भावना देखाइएको छ । अब करोडौं मानिसको ज्यानको रक्षा हुने सय जनामा हानि हुने भन्ने कुरामा त करोडकै ज्यानको महत्त्व छ बढी हुन्छ, नि त ।

त्यस कारण यस्ता कुराहरूतिर हामीले बढी ध्यान दिनु हुँदैन । हामीले मुख्य कुरा के सम्झनुपर्छ भने, क्लिनिकल ट्रायलबाटै आएको खोप हो । क्लिनिकल ट्रायलमा ४०/५० हजार मानिसमा परीक्षण भएर नै आएको हो । संसारभरी नै चलाइएको छ । कुनै पनि निकायले नचलाउन भनेको छैन भनेपछि अलमल कुरा गर्नुपर्दैन । हामीले खोप मजासँग लगाए हुन्छ । डराउनु पर्दैन । अधिकांश नागरिकले खोप नलगाएसम्म संक्रमणदर घट्ने बढ्ने भइरहन्छ । संसारभर कही पनि रोकिएको छैन । जहाँजहाँ खोप लगाइएको छ, त्यहाँ संक्रमण पनि नियन्त्रणमा आउन थालिसकेको छ ।

इजरायल हेर्नु, अमेरिका हेर्नु, जापान हेर्नु । जापानमा अहिले संक्रमण बढेको हल्लाखल्ला भइरहेको छ तर, त्यहाँको संक्रमणलाई हेर्ने हो भने मृत्युदर अत्यन्तै कम छ । १३/१४ हजार संक्रमितमा जम्मा ५/७ जनाको मृत्यु भएको छ । खोप लगाएपछि बल्ल कन्ट्रोलमा आउँछ । खोप नलगाएर त्यो लकडाउन सकडाउन गर्ने भन्ने कुरा आफ्नो ठाउँमा छ तर, लकडाउन पूर्ण सुरक्षा होइन । अझ समाधान त हुँदै नै होइन । लकडाउन गर्दै बस्ने हो भने मान्छेलाई अन्य समस्याले दुःख दिन्छ । जसले गर्दा हामीले लकडाउन गर्नेतर्फ ध्यान दिने नै होइन ।

अब लकडाउन गर्नेभन्दा पनि मापदण्डमा कडिकडाउन गर्ने, खोप लगाउने कार्यक्रमलाई छिटो अनि प्रभावकारी ढंगले अघि बढाउने, मान्छेलाई भिड गर्न नदिने गरिहाले अनिवार्य मास्क लगाउन अनिवार्य गर्ने त्यसरी लिन सकियो भने संक्रमण कम गर्न धेरै हदसम्म मद्दत पुग्छ । यो लकडाउन मात्रै गरेर बसेर अन्य समस्याले मान्छेलाई पिरोल्न थाल्छ । यो पहिले पनि भइसकेको छ । अहिले झन् जटिल रुप लिन्छ । किनभने, मान्छेलाई थुनेर राख्न थालेको र सम्पूर्ण व्यवसाय धरासयी भएको दुई वर्ष भइसक्यो ।
(जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितसँग नेपालखोजका लागि मीना साउँदले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया