बुधबार, वैशाख १२, २०८१

राजनीति म र मेरो देश

टीकाबहादुर खड्का २०७७ मंसिर ६ गते १९:२२

२००७ सालको राजनीतिक क्रान्ति र त्यसले ल्याएको परिवर्तन बारे थोरैतिनो जानकारी थियो । त्यो समयमा अहिले जस्तो रेडियो टेलिभिजन र पत्रपत्रिका थिएनन् । मानिसहरुले कुरा गरेको सुनेर मात्रै घटनाबारे थाहा हुन्थ्यो । कामको खोजीमा धनकुटा धरान हुँदै विराटनगर पुगेपछि मेरो ध्यान गाडीमै थियो । गाडीको काम सिक्नमै व्यस्त थिएँ । विराटनगर राजनीतिमा अगाडि थियो । क्रान्तिका नायक विपी कोइराला विराटनगरकै थिए । त्यसैले २०१५ सालको आम निर्वाचनको चहलपहलले मलाई पनि निकै प्रभाव परेको थियो । लाईसेन्स लिएर गाडी चलाउन थालिसकेको थिएँ । चुनाव प्रचारको लागि नेताहरुले गाडी भाडामा लिएका हुन्थे । मैले पनि चुनाव प्रचारको गाडी चलाएँ ।

आम चुनावमा मैले कम्युनिष्ट पार्टीलाई भोट दिएँ । पछि वडाको चुनावमा पनि कम्युनिष्टलाई नै भोट दिएँ । राजनीतिमा ठूलो चासो थिएन । कुन राजनीतिक दल कस्तो भनेर पर्गेल्नेतिर पनि म लागिन तर, कम्युनिष्टका कुराले मन तानेको थियो भोट दिएँ । आम चुनावमा मैले भोट दिएको उम्मेदवारले जितेन । पछि वडामा चाहीँ कम्युनिष्टले जित्यो ।

चुनाव सकिएपछि विपी कोइराला प्रधानमन्त्री भए भन्ने सुन्यौं । विराटनगरमा ठूलो खुशियालीपन छायो । पुरै विराटनगरमा दिपावली भयो । धरानमा पनि दिपावली भयो । जनताले चुनेर पठाएको नेता प्रधानमन्त्री भएकोमा सबैतिर मानिसहरु खुशी देखिन्थे । म त गाडी चलाउने मान्छे आफ्नै काममा व्यस्त हुन्थें । राजनीतिमा त्यति चासो नभएका कारण देशमा के–के भइरहेको छ भन्ने पनि थाहा हुँदैनथ्यो । संचारको सुविधा नगण्य थियो ।

पछि अचानक राजा महेन्द्रले प्रधानमन्त्री विपिलाई पक्राउ गरेर जेल हाले अरे भन्ने हल्ला फैलियो । प्रधानमन्त्री पक्राउ परे भन्ने सुन्दा म विराटनगरमै थिएँ । यो हल्ला चल्नासाथ सहरमा कर्फ्यू लागेको छ भन्ने हल्ला पनि फैलियो । नभन्दै एकै छिनमा माइकिङ गर्दै एउटा गाडी आयो । माइकिङमा कर्फ्यू लगाइएको छ । सबैजना आफ्ना घरमा बस्नू सडकमा ननिस्कनू सभा जुलुस नगर्नू भन्ने सूचना थियो । भोलिपल्टैदेखि राजनीतिमा लागेका मान्छेहरु पक्राउ पर्न थाले । राजाको कदममा समर्थन गर्नेलाई कागज गराएर छाड्ने र समर्थन नगर्नेलाई थुन्ने गर्न थाले । केही दिनमा त्यतिकै सुनसान भयो । भित्रभित्रै विरोध भए पनि बाहिर निस्केर सभा जुलुस गर्ने कोही भएन ।

काङ्ग्रेसले राजाको कदमको विरोध गर्यो । ठाउँठाउँमा आन्दोलन चलायो । पछि २०३० सालमा विराटनगरबाट काठमाण्डु जान उडेको हवाइजहाज काङग्रेसले अपहरण गरेर भारत पुर्याएको खबर पनि सनसनी भएर फैलियो ।

२०३४—३५ सालको कुरा हो स्थानीय निकायको चुनावमा प्रत्येक वडाबाट एकजना अध्यक्ष र चारजना सदस्य निर्वाचित हुने व्यवस्था थियो । धरान नगरपालिका वडा नं ८ मा सर्वसम्मतिमा पाँचजना निर्वाचित भयौं । पाँचजनामा म, गोविन्द मोक्तान, गङ्गाबहादुर बस्नेत, दिलबहादुर मगर र सुवास लिम्बु थियौं । पाँच वर्षको कार्यकाल समाप्त भएपछि अर्को चुनाव हुने भयो । मैले वडा अध्यक्षको पदमा उम्मेदवारी दिएँ । त्यसमा मैले हारेँ । त्यस्तै दोस्रोपटक पनि मैले अध्यक्षमै उम्मेदवारी दिएँ यसपल्ट पनि मलाई हराउन मेरो भोट आउने क्षेत्रबाटै अर्का एकजनाको उम्मेदवारी पर्यो । यसमा कृष्ण पाख्रिनले जिते । दोस्रोपटक पनि हार भएपछि चुनावमा उठिनँ । २०३६ सालमा चाँहीँ निकै ठूलो आन्दोलन भयो । चार महिनासम्म शिक्षण संस्थाहरु बन्द भए । अन्तिममा राजा विरेन्द्रले सुधारिएको निर्दलीय पञ्चायती व्यवस्था वा बहुदलीय शासन व्यवस्था रोज्न जनतालाई आह्वान गर्दै जनमत सङ्ग्रह घोषणा गरे । राजाको घोषणापछि आन्दोलन अन्त्य भयो । राजनीतिक चहलपहल बढ्यो । पञ्चायतका समर्थक र बहुदलवादीहरु आ–आफ्नो प्रचारप्रसारमा जुटे । जताततै सभाहरु हुन थाले बीपी कोइरालाको नेतृत्वमा नेपाली काङ्ग्रेसले बहुदलको प्रचार व्यापक बनायो ।

सूर्यबहादुुर थापा प्रधानमन्त्री थिए । प्रधानमन्त्रीले नै पञ्चयतलाई जिताउने नेतृत्व लिए । घोषणाको एक वर्षपछि २०३७ साल बैशाख २० गते देशव्यापी रुपमा एकसाथ जनमत सङ्ग्रह भयो । पञ्चायतको चुनाव चिन्ह पहेँलो रङ थियो भने बहुदलको नीलो रङ थियो ।

म पञ्चायतको पक्षमा लागेँ । फुर्सद भएसम्म प्रचारमा पनि हिडेँ । पञ्चायतकै पक्षमा पहेँलो रङमा भोट दिएँ । आखिर पञ्चायतकै जित भयो ।

जनमत सङ्ग्रहको परिणामपछि राजनीतिक परिस्थिति केही शान्त भयो तर लामो समय चलेन । काङ्ग्रेसले भित्रभित्रै आन्दोलनको तयारी गर्न थाल्यो । काङ्ग्रेसकै सत्याग्रहका समयमा राजधानीका ठाउँठाउँमा बम पड्क्यो ।

अन्ततः जनमत सङ्ग्रहको नौ वर्षपछि कांग्रेस र कम्युनिष्टहरु मिलेर २०४६ सालमा आन्दोलन चलाए । करिव दुई महिनाको आन्दोलन पछि राजा विरेन्द्र्रले निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भएको र राजनीतिक दलहरुमाथिको प्रतिबन्ध फुकुवा भएको घोषणा गरे । राजाले यस्तो घोषणा राति गरेका रहेछन् । बिहानैदेखि खुशीयाली जुलुसहरु निस्केका थिए । पञ्चायत पतन भएको एक वर्षमै नयाँ संविधान जारी भयो । संविधान अनुसार २०४८ सालमा प्रतिनिधि सभाको निर्वाचन भयो । मैले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भोट दिएँ । काङ्ग्रेसले बहुमत पायो र गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए ।

काङ्ग्रेस पार्टीभित्रको विवादले तीन वर्षमै प्रतिनिधिसभा भङ्ग भई २०५१ सालमा मध्यावधि चुनाव भयो । यो निर्वाचनमा मैले काँग्रेसलाई भोट दिएँ । अर्को निर्वाचनमा २०५६ सालमा भयो , यसपटक पनि मैले कांग्रसलाई नै भोट दिएँ ।

यतिञ्जेलमा देशमा माओवादीको युद्ध निकै चर्किएको थियो । त्यतिबेला माओवादीलाई चन्दा पनि दिन प¥यो । हाम्रो क्रसर उद्योग र ट्रक व्यवसायी संघबाट चन्दा दियौं ।राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएपछि मुलुकमा राजाविरोधी आन्दोलन चर्कियो । राजाविरुद्ध सवैदल एकजुट भए । कांग्रेस, एमाले र युद्धमा रहेको माओवादी मिलेर आन्दोलन चलाए । मुलुकमा शान्ति खलबलियो । देशभर एकसाथ राजाको शासनविरुद्ध आन्दोलन चक्र्यो । हाम्रो ट्रक व्यवसायी संघले धरामा शान्ति ¥याली निकाल्यो । हाम्रो ‍र्‍याली आन्दोलनको विरोध वा समर्थनमा थिएन, शान्ति र सद्भाव अभिबृद्धिका लागि थियो । हाम्रो कार्यालय बाँझोगराबाट र्‍याली शुरु भएर छाताचोक हुँदै सिंहदेवी, पुरानो बजार, देशलाईन घुमेर भानुचेक पुगेर सभा भएको थियो । शान्ति र्‍याली अघि बढ्दै थियो, आन्दोलनकारीको राजाविरोधी जुलुश हामीतिरै आयो । अझप पो हुने हो कि जस्तो लाग्यो तर त्यस्तै अप्रिय अवस्था भएन । दुवै आआफ्नो बाटो लिए । शान्ति ¥यालीमा ठूलो सहभागित थियो । आन्दोलनका पक्षधरहरु नै बढी सहभागी थिए । अन्तत : आन्दोलनकारीको जीत भयो । देशमा गणतन्त्र स्थापना भयो । राजाका ठाउँमा राष्ट्रपति आए ।

प्रतिक्रिया