बिहीबार, वैशाख १३, २०८१

अमेरिकी सेना हटाउने रणनीतिमा इरान सफल हुँदै

नेपालखोज २०७८ साउन १९ गते ७:२३

काठमाडौं । इराकमा सरकारी र विद्रोही सेनाबीच लामो समयदेखि द्वन्द्व छ । उत्तरी इराकमा इस्लामिक कट्टरपन्थी सुन्नी समूह (आईएसआईएस) ले इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया माग गर्दै लामो समयदेखि सशस्त्र विद्रोह गरिरहेको छ ।

इराकको सरकारी सेनालाई मद्दत गरिरहेको अमेरिकाले इराकबाट आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इराकी राष्ट्रपति मुस्ताफा अल कदिमीसँगको वार्तामा यस्तो घोषणा गरेका हुन् । अमेरिकी सेना इराकबाट फिर्ता भएपछि अधिकांश इराकी जनताले खुसीयाली मनाएका छन् ।

इराकमा अमेरिकी सैनिकको उपस्थिति विवादास्पद पनि हुँदै आएको थियो । इरानसमर्थित नेता र मिलिसियाहरूले जसरी पनि अमेरिकी सेना फिर्ता हुनुपर्नेमा जोड दिँदै आएका थिए । इराकका जनताहरू जो तटस्थ छन्- उनीहरूले पनि इराकमा विदेशी सैनिक उपस्थितिको विरोध गरिरहेका थिए । इराकबाट अमेरिकी सैनिक फिर्ता हुनुभन्दा पहिले अफगानिस्तानबाट अमेरिकाले सबै सैनिक फिर्ता लगेको थियो । अमेरिकाले पालैपालो मुस्लिम राष्ट्रमा भएका सैनिकहरू फिर्ता गर्दै जानुलाई अन्तर्राष्ट्रिय स्तरमा अर्थपूर्ण रुपमा विश्लेषण गरिएको छ ।

अफगानिस्तानबाट अमेरिकाले आफ्ना सैनिक फिर्ता लगेपछि तालिबान विद्रोहीलाई सरकारविरुद्ध युद्ध छेड्न अनुकूल हुँदै गएको छ । त्यसैगरी अमेरिकाले पनि लामो समयदेखि इराकमा रहेका आफ्ना सेनालाई फिर्ता बोलाउने घोषणाले इराकको आन्तरिक युद्धले लिने मार्गको सम्बन्धमा चासोको विषय भएको छ । अमेरिकाको घोषणाअनुसार अबको पाँच महिनासम्ममा (सन् २०२१ भित्र ) इराकबाट सबै सैनिक फिर्ता जानेछन् ।

अमेरिकाको यो घोषणाले दुई महत्त्वपूर्ण प्रश्न उठेका छन् । पहिलो प्रश्न अमेरिकी सैनिक फिर्ता भएपछि इराकी भूमिमा पर्ने असर र अर्को अब इराकमा इस्लामिक राज्य पुनःस्थापनाको मार्ग प्रशस्त भएको हो त ? भन्ने रहेको छ ।

अमेरिकी सेना फिर्तापछि इराकमा इरानले अप्रत्यक्ष रुपमा कब्जा गर्ने खतरा बढेको छ भने अर्कातिर स्लामिक स्टेटको फेरि शासनमा फर्किने सम्भावना उस्तै छ । अमेरिकी सैनिक फिर्ता हुने भएपछि पश्चिमा देशहरूको आँखा इराकमाथि लाग्ने भएको छ । पश्चिमा देशहरू इस्लामिक स्टेट जस्तै कुनै पनि सशस्त्र समूहले फेरि शिर उठाएको देख्न चाहँदैनन् । इस्लामिक स्टेटले शिर उठाएमा आफूहरूमाथि हमला हुने पश्चिमा देशहरूलाई उत्तिकै चिन्ता छ ।

अर्कातिर इरानलाई अमेरिकी सैनिक फिर्ता भए लामो समयसम्म फाइदा हुने देखिन्छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान आफ्नो आसपासका देशबाट अमेरिकी सैनिकलाइ हटाएर एकलौटी शक्ति स्थापना गर्न चाहिरहेको छ । सन् १९०३ मा अमेरिकाले इराकको राष्ट्रपति पदबाट सद्दाम हुसेनलाई हटाएपछि इराकलाई आफू मातहत राख्ने इरानको सपना चकनाचुर भएको थियो ।

इरानलाई इराकको सेनामा आफ्ना समर्थक सिया लडाकुलाई भर्ती गराउने अधिकार पनि छ । इराकी संसद्‌मा पनि इरानलाई सपोर्ट गर्ने सांसदहरू छन् । अर्कातिर सिरियामा चलिरहेको गृहयुद्धमा पनि इरानकै सेना परिचालन गर्ने अधिकार दिइएको छ । लेबनानमा पनि इरान समर्थित हिजबुल्ला शक्तिशाली हुँदै आएको छ ।

विभिन्न गतिविधिबाट इरानले दूरगामी कूटनीतिक चाल खेलिरहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले औंल्याएका छन् । खाडी क्षेत्रका मध्यपूर्व देशहरूलाई आफ्नो मातहतमा राख्न सके अमेरिका सैन्य रुपमा सक्रिय हुन नसक्ने इरानको रणनीति छ । आफ्नो लक्ष्य पूरा गर्न नै इरान समर्थित मिलिसिया लगातार अमेरिकी सैनिक क्याम्पमा आक्रमण गरिरहेका छन् । विभिन्न दबाब र विवादास्पद भूमिकामा आफू देखिएकाले अमेरिकाले इराकबाट सेना फिर्ताको घोषणा गरेको बताइन्छ ।

१८ वर्ष पहिले एक लाख ६० हजार शक्तिसाली अमेरिकी सशस्त्र सैनिक समूहले आक्रमण गरी इराक राष्ट्र नै कब्जा गरेको थियो । अहिले इराकमा २५ सय अमेरिकी सैनिक मात्रै छन् । उनीहरू इराकको तीनवटा मुख्य केन्द्रमा बसेका छन् । इराकमा रहेका यी अमेरिकी सैनिकमाथि इरानी सैनिकले बारम्बार रकेट र ड्रोन आक्रमण गरिरहेका छन् ।

अमेरिकी सैनिकको काम इराकी सैनिकलाई तालिम दिनु हो । अमेरिकाबाट प्रशिक्षित इराकी सैनिकको दायित्व देशमा सशस्त्र विद्रोह गर्दै आएको इस्लामिक स्टेटविरुद्ध लड्नु रहेको छ । अमेरिकाले इराकबाट आफ्ना सैनिक फिर्ता गरेपछि इरान र पश्चिममा देशहरूको इराकमाथि हुने यथार्थ चलखेल कस्तो हुने हो त्यो भने भविष्यले नै बताउनेछ ।
-बीबीसीलगायत विभिन्न सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया