बुधबार, जेठ १, २०८२

अन्तर्राष्ट्रिय क्रिकेटबाट पारसको संन्यास

नेपालखोज २०७८ साउन १९ गते ८:१७

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान तथा अलराउन्डर पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका छन् । झन्डै दुई दशक राष्ट्रिय टिमबाट खेलेका खड्काले आज (मंगलबार) बिहान ट्‌विटरमार्फत संन्यासको घोषणा गरेका हुन् ।

उनले सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट यात्रा सुरु गरेका हुन् । संन्यासको घोषणाा गर्दै उनले यस अवधिमा आफूलाई सहयोग गर्ने सम्पूर्णलाई धन्यवादसमेत दिएका छन् ।

‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छ । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो,’ उनले ट्‌विटरमा लेखेका छन्, ‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु ।’

उनले क्रिकेटरका रूपमा आफूले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफूले भूमिका निर्वाह गरेको बताएका छन् । क्रिकेटर खड्काले मैदानभित्रका दुई दशक, जीवन रहुन्जेल, मीठो यादका रूपमा मसँग रहने जनाएका छन् । साथै उनले सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत व्यक्त गरेका छन् ।

लामो समय नेपाली टोलीको कप्तानी गरेका खड्काले दुई वर्षअघि मात्र कप्तानबाट राजीनामा दिएका थिए ।

Image
Image

प्रतिक्रिया