दार्चुलाका जयसिंह बेपत्ता प्रकरणमा भारतको उच्च तहसँग छलफल गर्न माग

नेपालखोज २०७८ साउन २० गते १८:३०

काठमाडौं । सांसद अनिता देवकोटाले दार्चुलाका जयसिंह धामी बेपत्ता प्रकरणमा भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताएकी छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद देवकोटाले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले भारत सरकारसँग सम्वाद गर्नुपर्ने बताइन् ।

उनले यस घटनाको खोजी, अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारबाही गर्न भारतको उच्च तहसँग छलफल गर्नुपर्ने बताइन् । आगामी दिनमा यस्तो घटना नघटाउनको निम्ति सरकारले भारत सरकारको प्रतिवद्धता लिनु पर्नेमा उनले जोड दिइन् ।

सांसद देवकोटाले मुलुक कोभिड १९ संक्रमणबाट आक्रान्त भएको भन्दै सबै नागरिकलाई खोपको सुनिश्चितता गर्न र कम आय भएका नागरिकलाई आर्थिक राहत प्याकेज ल्याउन ध्यानाकर्षण पनि गराइन् ।

उनले कोभिड संक्रमणको तेस्रो लहर आउने सम्भावनाको उल्लेख गर्दै त्यसविरुद्ध जुध्ने सामथ्र्यको सुनिश्चितता गर्न पनि सरकारलाई ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया