गोंगबुबाट पेस्तोलसहित ३ जना पक्राउ

काठमाडाैं । नेपाल प्रहरीले काठमाडौंको गोगंबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-२६ गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोगंबु विजी मल अगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शंका लागि पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए ।
प्रतिक्रिया