उदयपुरमा कोरोना संक्रमित बढ्दै

नेपालखोज २०७८ साउन २२ गते ११:३०

उदयपुर । जिल्लामा साउनको दोस्रो सातामा कोरोना संक्रमितको संख्या घटेर दुई सय पाँचमा झरेकामा तेस्रो सातामा आइपुग्दा ह्वात्तै बढेर ३१५ पुगेको छ ।

एक साताका बीचमा संक्रमित एक सयभन्दा बढी भएका छन् । स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताउनुभयो । लिम्चुङ्बुङ र ताप्ली गाउँपालिकामा पनि संक्रमित बढिरहेको उनको भनाइ थियो ।

घटेर शून्यको अबस्थामा झरिसकेको सङ्क्रमण एक सातामै पुनः तीव्ररूपमा वृद्धि हुन थालेकाले त्रियुगा-२को खैजनपुर गाउँ शिल गरिएको छ, जहाँ १५ संक्रमित छन् ।

मालपोत कार्यलय, त्रियुगा र गाइघाटस्थित सिभिल बैङ्कका कर्मचारीमा समेत सङ्क्रमण देखिएकामा मालपोत भने एक साताको लागि बन्द गरिएको छ । जिल्लामा कोरोना संक्रमितकाे संख्या तीन हजार ४३ पुगेकामा ३१५ उपचारत छन् भने ५२ को मृत्यु भएको छ ।

प्रतिक्रिया