कांग्रेस महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै, पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला गर्दै

नेपालखोज २०७८ साउन २३ गते ७:३३

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला गर्ने भएको छ । जिल्ला सभापतिहरुको भेला आगामी साउन २५ गते काठमाडौंमा गरिँदैछ ।

पार्टीको १४औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो । यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए ।

ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो । भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदमलगायतका विषयमा छलफल हुने जिल्ला सभापतिले बताएका छन् ।

त्यस्तै, नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही साउन २८ गतेका लागि बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा २८ गते दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र निर्वाचन निर्देशिका प्रस्तुत गरिने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया