खोप केन्द्रहरुमा भीड बढेको जनगुनासो, केन्द्र बढाएर करिब साढे चार हजार पुर्याइयो
नेपालखोज
२०७८ साउन २३ गते ७:४४

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन खोप केन्द्र थप गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले खोप लगाउनेको भीड हुन थालेपछि खोप केन्द्र थप गरिएको बताएका छन् ।
उनका अनुसार देशभरि नै पहिलेको भन्दा एक हजार ४३३ खोप केन्द्र थप गरिएको हो । पहिले दुई हजार ९८९ खोप केन्द्र भएकोमा अहिले त्यो सङ्ख्या चार हजार ४२२ पुर्याइएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा ८३ खोप केन्द्र थप गरि १४९ पुर्याइएको छ । उपत्यकामा पहिले ६६ खोप केन्द्र थिए । सरकारले २०७७ माघ १४ गतेदेखि नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको हो । अहिलेसम्म नेपालमा ४४ लाख तीन हजार २१ जनाले पहिलो मात्रा र २२ लाख आठ हजार ५५ जनाले पूर्ण मात्रामा खोप लगाइसकेका छन् ।
सम्बन्धित

प्रतिक्रिया