बिहीबार, चैत १५, २०८०

सफल चिलीको, सबैभन्दा तनाव फ्रान्सको

नेपालखोज २०७८ साउन २३ गते २०:१९

हाम्रो समाजमा पति–पत्नीबीच धेरै विवाद र तनावको अवस्था हुनसक्छ । तर समाज, परिवार, आफन्त र इस्टमित्रमा इज्जत राख्न पनि धेरै दम्पतीले आफूभित्रका उकुसमुकुसलाई बाहिर ल्याएका हुँदैनन् ।

काठमाडौं । विवाह मानव जीवनको एउटा महत्त्पूवर्ण पक्ष हो । विवाहलाई समाजशास्त्रीहरूले समाजको एक पक्षका रुपमा पनि लिने गरेका छन् । भनिन्छ जबसम्म विवाह हुँदैन, तबसम्म मानिसको जीवन पूर्ण मानिँदैन । नेपालको तुलनामा बाहिरी देशहरूमा धेरैको वैवाहिक जीवन अफसल भएको अध्ययनहरुले देखाएको छ ।
वैवाहिक जीवनको सम्बन्धलाइ लिएर इजरायलमा संसारमै सबैभन्दा बढी समय लगाएर अनुसन्धान गरिएको छ । उक्त सर्भले विवाहपछि हुने तनावपूर्ण जीवनमा १९ प्रतिशतसम्म मृत्युको खतरा हुने निष्कर्ष निकालेको छ । यो अध्ययन इजरायलको टेल अभिभ युनिभर्सिटीले ३२ वर्ष लगाएर गरेको थियो ।

नेपाल र भारतमा विवाहलाई जन्मजन्म वा सातजन्मसम्मको सम्बन्धलाई लिइने गरिन्छ । ठूलाबडाले पनि जन्मजन्मसम्म एकसाथ रहने आशीर्वाद दिने गर्छन् । तर यो समबन्धमा पश्चिमा देशहरूको तुलनामा धेरै नै दिगो रहेको छ । एक अध्ययनअनुसार छिमेकी देश भारतमा हरेक वर्ष एक करोड वैवाहिक कार्यक्रम हुने गर्छन् । त्यहाँ ८० प्रतिशत विवाह हिन्दु रितिरिवाजअनुसार हुने गर्छ । एक अर्ब ३५ करोड जनसंख्या रहेको भारतमा सम्बन्धविच्छेदको दर एक प्रतिशत मात्र छ । सयमा एक सम्बन्धविच्छेद (तलाख) हुन्छ भने ९९ प्रतिशत दु:खसुख गर्दै अटुट बन्धनयुक्त सम्बन्धमा चल्ने गर्छन् । महिला हुन् वा पुरुष आफ्नो वैवाहिक जीवनमा खुसी हुँदैनन् । तर अधिकांश दाम्पत्य जीवनमा बाँधिएकै हुन्छन् ।

इजरायलको विश्वविद्यालयको अध्ययनअनुसार वैवाहिक जीवनमा तनाव आउनसाथ पुरुषको मृत्युको खतरा १९ प्रतिशत बढी हुने गर्छ । महिला मुत्युदर भने कम हुने तथ्यांकले देखाएको छ ।

३२ वर्षसम्म इजरायलमा गरिएको वैवाहिक जीवनसम्बन्धी अध्ययनमा ४० भन्दा माथि उमेरका ९ हजार पुरुषसँग सोधपुछ गरिएको थियो । विवाहपछि खुसी छैन भन्ने पुरुषहरूमध्ये ७० प्रतिशतमा मष्तिस्काघातक र हृदयाघातको खतरा रहेको खुलेको छ । हाम्रो शरीरलाई जसरी बढी धूमपानले हानि गर्छ, त्यसैगरी विवाहको तनावले पनि हानि गर्ने अध्ययनले देखाएको छ । यदि कोही व्यक्तिले धूमपान र मद्यपान गर्दैन । तर उसको वैवाहिक जीवन दु:खी छ भने धूमपान र मद्यपान सेवनको असरभन्दा त्यसले बढी अमानसिक र शारीरिक रुपमा बढी असर गर्नसक्छ ।

इजरायलमा गरिएको उक्त अध्ययन नेपालको सन्दर्भमा पन केही मिल्दोजुल्दो हुनसक्छ । विवाहपछि पारिवारिक दायित्व पूरा गर्न महिलाभन्दा पुरुष बढी तनावमा रहने गरेको तथ्यांकले देखाउँछ ।

विभिन्न अनुसन्धानहरूका आधारमा विश्वका प्रसिद्ध देशहरूको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी वैवाहिक जीवनमा असफलता फ्रान्समा देखिएको छ । फ्रान्समा ५५ प्रतिशतको वैवाहिक जीवन विच्छेद भएको तथ्यांक छ । यस्तै चिलीमा विश्वमै बढी सफल वैवाहिक सम्बन्ध देखिन्छ । चिलीमा असफल वैवाहिक जीवन बिताउनेहरू तीन प्रतिशत मात्रै छन् ।

फ्रान्सपछि रुसमा ५१ प्रतिशत जोडीको सम्बन्ध विच्छेद हुने गरेको छ । यस्तै तेस्रो बढीमा यस्तै अमेरिकामा ४६ प्रतिशतको दर छ । पाँचौंमा बेलायतमा ४२ प्रतिशत जोडीको वैवाहिक जीवन असफल छ । यस्तै क्यानाडा र अस्ट्रेलियामा सयमा ३८ प्रतिशत जोडीको वैवाहिक जीवन विच्छेद भएको छ । त्यसैगरी ब्राजिलमा २१, दक्षिण अफ्रिकामा १७ प्रतिशतले तनावपूर्ण रुपमा वैवाहिक जीवन चलाइरहेका छन् ।

सन् २०१२मा अमेरिकाका डेना आदमले लेखेको एक पुस्तकमा प्रत्येक सयमा १७ प्रतिशत जोडी आफ्नो पार्टनर (जोडी) का साथ खुसी भएको उल्लेख छ । अर्का एक लेखक बिकी लार्सनका अनुसार हरेक १० मा ६ जोडी सम्बन्धमा दु:खी छन् । हरेक १० मा चार जोडीले आफ्नो जोडी विच्छेद गर्ने विचार गरेको उल्लेख छ ।

विश्वको उक्त तथ्यांकबाट कति मानिस वैवाहिक जीवनमा प्रवेश गरेसँगै तनावमा रहेछन् भन्ने प्रस्ट हुन्छ । विवाहलाई निःतान्त निजी मामिला मानिन्छ । तर, आजभोलि सहरीकरण र उत्तर आधुनिकतावादको विकाससँगै विवादले उग्ररुप लिनेबित्तिकै वैवाहिक जीवन विच्छेद हुने गरेको छ ।

हाम्रो समाजमा पति–पत्नीबीच अझ धेरै विवाद र तनावको अवस्था हुनसक्छ । तर समाज, परिवार, आफन्त र इस्टमित्रमा इज्जत राख्न धेरै दम्पतीले मनभित्रका उकुसमुकुसलाई बाहिर ल्याएका हुँदैनन् । नेपाल र भारतजस्ता हिन्दु राष्ट्रमा त निकै कम सम्बन्धविच्छेदसम्मका घटना बाहिर आउने गर्छन् । वैवाहिक जीवन असफल हुनुका कारणहरूमा आपसी समझदारीको अभाव, महिला वा पुरुषको चाहिनेभन्दा बढी स्वतन्त्रताको चाहना, गरिबी, घरेलु हिंसा, आर्थिक हिंसालगायत छन् ।

पश्चिमा देशको तुलनामा नेपाल र छिमेकी देशको कुरा गर्ने हो भने जस्तोसुकै तनाव झेलेर अधिकांशले वैवाहिक सम्बन्धलाई निरन्तरता दिएका छन् । वर्षौंदेखिको नेपाली समाजको इतिहास हेर्ने हो भने दम्पतीको जीवन तनावका बाबजुद पनि चलिरहेको छ । नेपालको प्रहरी र अदालतसामु सम्बन्धविच्छेदका घटनाहरू धेरै कम दर्ता भएका छन् । यसबाट यो प्रस्ट हुन्छ कि नेपालीहरू वैवाहिक सम्बन्धलाई मजबुत बनाउन सिपालु छन् ।

नेपालमा वैदिक परम्पराअनुसार आपसी सहमतिमा विवाह हुने भएकाले पनि त्यो दिगो भएको हो । सानै उमेरमा भागी विवाह गर्नेहरू अधिकांशको जोडीमा भने खटपट हुने गरेको छ । एक अध्ययनअनुसार नेपालमा उमेर पुगेपछि ९२ प्रतिशत जोडीको मागी विवाह हुने गरेको छ । उमेर पुगेर भागी विवाह गर्नेहरूको पनि सम्बन्ध सुखदु:खमा अटुट रुपमा चलेको पाइएको छ ।

नेपालमा ७५ प्रतिशत बढी युवायुवती अहिले पनि मागी विवाहलाई नै मन पराउने गरेका छन् । वर्षौंसम्म प्रेम गरेका जोडीले मागी विवाह गरेका धेरै उदाहरण छन् । त्यसैले पनि अन्य देशको तुलनामा नेपालका जोडीको वैवाहिक जीवनमा धेरै कम खटपट हुने गर्छ ।
(विभिन्न सञ्चारमाध्यमहरूको सहयोगमा)

प्रतिक्रिया